२०७७ असार २२ , सोमवार

सांसदले भिर्न थाले कोरोना भगाउने कार्ड !

सुनाखरी विशेष

सुनाखरी न्युज/ काठमाडौँ — सांसदहरू संसद र संसदीय मिटिङहरुका बैठकमा भाइरस रिमुभिङ कार्ड लेखिएको निलो कार्ड घाटीमा भिरेर पछिल्ला केही दिनयता सिंहदरबार र बानेश्वरको संसद भवन आउजाउ गर्न थालेका छन् । उक्त कार्ड लगाउँदा कुनै पनि भाइरस १ मिटर पर नै रोकिने उक्त कार्ड भिडाउनेले सुनाएको दाबी सांसदहरू सुनाउने गर्छन् ।

नेकपा सांसद मोहन बानियाँले संसद भवन अगाडि उक्त कार्ड किनेको बताए । कार्डबारे आफूले सुनेको आधारमा व्याख्या गर्दै उनले भने, ‘चीनबाट आएको हो । संसद भवनको अगाडि बेच्न ल्याएको थियो । बेच्ने व्यक्तिले मच्छर धुपले १ मिटरको आसपासमा मच्छर भगाएजस्तो गरी यो कार्डले कोरोना भगाउँछ भन्यो ।’

चीनले विद्यालय र अफिसमा अनिवार्य गरेको छ भन्ने कुरा कार्ड बेच्नेले आफूहरूलाई भनेको सांसदहरूले बताएका छन् । ‘चीनमा स्कुल र कार्यालयहरूमा अनिवार्य गरेको छ रे यो कार्ड । एकपटक खोलेर लगाएपछि एक महिना काम गर्ने भन्ने छ,’नेकपाकै सांसद गणेश पहाडीले भने । सांसद झपट रावलले आफूले ४ वटा कार्ड किनेको बताए ।

कार्ड दिने व्यक्तिले कार्ड भिरेपछि मास्क पनि लगाउनु पर्दैन भनेको उनीहरू बताउँछन् । तर, सांसदहरूले भाइरस रिमुभिङ कार्डले कोरोना भाइरसलाई एक मिटर परै छेक्नेमा विश्वास नगरेर होला मुखमा मास्क भने लगाइरहेका हुन्छन् । यसरी भाइरस रिमुभिङ कार्ड लगाउने सांसदहरूमा सत्तारुढ नेकपाका सांसदहरूको बाहुल्यता छ । प्रतिपक्षी दलका सांसदहरूले भने अक्कलझुक्कल मात्रै यस्तो कार्ड लगाएको देखिन्छ ।

विकास तथा प्रविधि समिति सभापति एवं नेकपा सांसद कल्याणी खड्काका छोराले उक्त कार्ड सांसदहरूलाई बिक्री वितरण गरेको कार्ड भिर्ने सांसदहरूले बताएका छन् । केहीलाई सित्तैमा त केहीलाई प्रति कार्ड ७ सय रुपैयाँमा बिक्री गरेको सांसदहरूले बताएका छन् ।

Share this news: