२०७७ असार २९ , सोमवार

ललिता निवास प्रकरणः अख्तियारले लियो गच्छदारसँग बयान

शेयर

सुनाखरी न्युज/
काठमाडौँ — बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा सारेको विषयमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसँग बयान लिएको छ । भौतिक योजना तथा निर्माण मन्त्रीको हैसियतले मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजाने क्रममा उनी बहुचर्चित ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानमा तानिएका हुन् ।
२०६६ साल चैत २९ गते मन्त्रिपरिषद्को बैठकको प्रस्ताव नं.३ मा प्रधानमन्त्री निवास विस्तार र मोही व्यवस्थापनको विषयलाई मुख्य रुपमा उठाएको थियो। उक्त प्रस्ताव तयार पार्नेमा भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्न्यात थिए भने त्यसलाई स्वीकृत गर्नेमा उपप्रधानमन्त्रीसमेत रहेका गच्छदार थिए। अख्तियारले यसअघि नै आफ्नो प्रमुख आयुक्तसमेत भइसकेका बस्न्यातको बयान लिइसकेको छ।

‘केही दिनअघि उहासँग बयान भएको हो’ अख्तियार स्रोतले भन्यो, ‘आफूमाथिको आरोप इन्‍कार गर्नुभएको छ। प्रधानमन्त्रीको निवास विस्तारका क्रममा आफूले लगेको सैद्धान्तिक प्रस्तावमा बद्‌नियत थिएन भन्ने उहाँको दाबी छ।’ विवादास्पद निर्णय हुनुअघि गच्छदारले समेत प्रस्तावमा केही निर्णय गरेका कारण अख्तियाले बोलाएको थियो। अब केही दिनमै ललिता निवासको जग्गा अनियमितता प्रकरणको मुद्दा विशेष अदालतमा लैजाने निर्णय हुनेछ।

 

Share this news: