२०७६ चैत्र २० , बिहिवार

मलेसियासँग नेपालको ११ वर्षपछिको हार , सन्दीपको कीर्तिमान

खेलकुद

sandeep

मलेसियासँग नेपालको ११ वर्षपछिको हार , सन्दीपको कीर्तिमान

सुनाखरी न्युज / काठमाडौं- एसिसी टि–२० पूर्व क्षेत्रीय छनोट क्रिकेट प्रतियोगितामा मलेसियासँग नेपालले हार ब्यहोरेको छ । थाइल्यान्डमा शनिबारदेखि सुरु भएको पूर्व क्षेत्रीय छनोट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा नै मलेसियासँग २२ रनको हार ब्यहोरेको हो । 2००९ को एसीसी टी(२० कपमा ६ विकेटको हार व्यहोरेको नेपालले त्यसयता भएका पाँच वटै भेटमा जित हात पारेको थियो ।

तर यो पटक मलेसियाले बाजी मार्‍यो । शनिबार बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले नेपाललाई २२ रनले हराएको हो । बलिङ ठिकठाक गरेको नेपालले ब्याटिङमा भने न राम्रो शुरुवात गर्न सक्यो, न राम्रो फिनिसिङ । १५५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम दुई बल बाँकी छँदा सबै विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।

१ रन हुँदा नै पहिलो विकेटको रुपमा कुशल मल्ललाई शून्य रनमै गुमाएको नेपालको सुरुवात भने राम्रो हुन सकेन । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले समान ३८(३८ रन बनाए। त्यस्तै, पवन सर्राफले १९ रन जोड्दा अन्य खेलाडी भने दोहोरो अंक पनि बटुल्न सकेनन्। पारस खड्का ९ रनमा आउट भए । मलेसियाका लागि शर्विन मुनियन्डीले ४ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो। सिएद अजिज सिएद मबराकले ५१, अनवार अरुदिनले ३१ र मोहम्मद नोरले ३० रन बनाएका थिए। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा अविनाश बोहराले २ विकेट लिए।

सन्दीपको १०० विकेट पुरा

मलेसियाको पहिलो विकेट लिएसँगै सन्दीप टी(२० क्रिकेटमा १०० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बने ।मलेसियाविरुद्धको खेलमा उनले एक विकेट लिएसँगै सय विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान कायम गरेका हुन्। आफ्नो पहिलो ओभरमा नै २ विकेट लिएका सन्दीपले भिरनदिप सिंह, खिजार हायत र अनवार अरुदिनलाई आउट गराएका थिए।सन्दीपले ४ ओभर बलिङ गर्दै २२ रन खर्चेर ३ विकेट लिएका हुन्।

Share this news: