२०७६ फाल्गुन १२ , सोमवार

नागढुंगा–मुग्लिन सडकलाई ६ लेनसम्म विस्तार गरिँदै

lane

नागढुंगा–मुग्लिन सडकलाई ६ लेनसम्म विस्तार गरिँदै

सुनाखरी न्युज / नागढुंगादेखि मुग्लिनसम्मको ९४ दशमलव ७ किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ । हाल १ देखि २ लेन चौडाइ रहेको सडकलाई ४ देखि ६ लेनसम्म विस्तार गर्न लागिएको हो ।

सडकमा साँघुरा मोड रहेकाले त्यसलाई समेत सुधार गरिने सडक विभागले जनाएको छ । मोड सुधार गर्दा सडकको लम्बाई नै केही घट्न जाने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । यस सडकमा सम्भव भएसम्म ६ लेन बनाइने छ भने नसकिने स्थानमा ४ लेनमा विस्तार गरिने छ ।

‘गजुरी, मलेखु लगायतका बजार क्षेत्रमा ४ लेन सडक बन्नेछ,’ उनले भने । सडक विस्तारका क्रममा २१ पुलसमेत निर्माण गरिने भएको छ । ती सबै पुल ४ लेनको हुने बताइएको छ । हाल भइरहेका पुल २ लेन मात्रै भएकाले त्यसलाई नभत्काई त्यससँगै ‘साइड’मा सडक जत्तिकै चौडाइको पुल निर्माण गर्न लागिएको हो ।

परियोजनाअन्तर्गत झण्डै १० वटा आकाशेपुल निर्माण गर्ने योजना रहेको छ । सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० र वातावरणीय तथा सामाजिक प्रभाव मूल्यांकन प्रतिवेदन ९ईएसआईए० तयार भइसकेको छ ।

नागढुंगा–नौबिसे–मुग्लिन सडकखण्ड रणनीतक सडक पहुँच तथा व्यापारिक सुधार आयोजनाअन्तर्गत स्तरोन्नति गर्न लागिएको हो । सडक त्रिभुवन राजपथअन्तर्गत नागढुंगादेखि नौबिसेसम्म १२ दशमलव ७ किमी र पुथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन ८२ दशमलव ४ किमी रहेको छ । विश्व बैंकको ऋण सहयोगमा यो सडकखण्डको विस्तार गर्न लागिएको हो ।

सडक निर्माण भएको ५ वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै सडकको मर्मतसम्भार गर्नुपर्ने प्रावधानसहित अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिने छ । सो सडक निर्माणका लागि झण्डै १६ अर्ब रुपैयाँँको लागत लाग्ने अनुमान गरिएको छ । यस सडक विस्तारका लागि ३ वर्ष लाग्ने अनुमान गरिएको छ ।

यो सडक प्रदेश ३ को काठमाडौं, धादिङ र चितवन जिल्लामा फैलिएको छ । काठमाडौं जिल्लाको नागढुंगा चेकपोस्टबाट शुरू भएर नौबिसे, खानीखोला, महादेवबेंसी, गल्छी, बैरेनी, मलेखु बेनीघाट, कुरिनटार हुँदै चितवन जिल्लाको मुग्लिनसम्म सडक रहेको छ । यो सडक एशियाली राजमार्ग मापदण्डानुसार २ लेन, ७ मिटर ‘क्यारिजवे’ र १ देखि २ दशमलव ५ मिटरसम्म ‘सोल्जर’ सहित स्तरोन्नति गर्न लागिएको हो ।

त्यसलाई २ लेन सडकका रूपमा विस्तार गरेर कालोपत्र गर्ने गरी तयारी अघि बढाइएको छ । उनले भने, ‘मलेखुबाट विशालटारसम्म पनि ट्रयाक खोल्न समस्या छैन ।’

नागढुंगा–मुग्लिन सडक सरकारले ६ लेन विस्तारको तयारी गरिरहेपनि बजार क्षेत्रमा ४ लेनभन्दा विस्तार गर्न नसकिने हुँदा वैकल्पिक रूपमा पारिपट्टि पनि सँगसँगै निर्माण गर्न लागिएको हो । कतिपय स्थानमा भौगोलिक अवस्थाका कारण ४ लेनमा विस्तार गर्न नसकिने अवस्थाले यो सडकलाई विकल्पका रूपमा अघि बढाइएको हो । हाल पनि ठाउँठाउँमा पुल रहेको र आगामी दिनमा निर्माण हुने पुलले वारिपारि गर्न कुनै समस्या नहुने प्रमुख थापाले बताए । उनले भने, ‘यसले एकातिर स्थानीयवासी लाभान्वित हुनेछन् भने अर्कोतिर पृथ्वी राजमार्ग भएर हिँड्ने सवारीसाधन पनि पारिबाट समेत आवतजावत गर्न सक्छन् ।’

नयाँ संरचनाअनुसार नेपाल सरकारको अधिकार क्षेत्रमा रणनीतिक सडक मात्रै परेसँगै सरकारले सडकको स्तरोन्नतिलाई समेत ध्यान दिन थालेको छ ।

सरकारले २ वर्ष पहिले नै २ लेनभन्दा कम चौडाइको सडक निर्माण नगर्ने निर्णय गर्दै भएका सडकको विस्तार शुरू गरेको हो । त्रिभुवन राजपथ, पुथ्वी राजमार्ग, धुलिखेल–सिन्धुली–बर्दिवास लगायतका विभिन्न सडक विस्तारका क्रममा रहेका छन् । – सञ्चिता घिमिरे रासस

Share this news: