२०७६ फाल्गुन १२ , सोमवार

उत्सवमा रंगिनु परे टुँडिखेल

उत्सवमा रंगिनु परे टुँडिखेल

सुनाखरी न्युज/
काठमाडौं –
राजधानी काठमाडौँमा अवस्थित टुँडिखेल अब बीच सहरमा अलिकति बचेको खाली ठाउँको नाम मात्रै रहेन । जात्रा, उत्सव या संघर्षका दिनमा नागरिक शक्तिको यो मुख्य प्रदर्शन स्थल आज बचेखुचेको शक्ति पनि गुमाउँदै छ । सत्ताको आड पाएका ठेकेदारहरूले यसलाई कागजको फर्जी वैधानिकताका भरमा आम्दानीको स्रोत बनाउन खोजेका छन् ।९० सालको भुइँचालो होस् या बीच वर्षहरूका कुनै पनि प्रकोप, टुँडिखेलले राजधानीको ठूलो जनसंख्यालाई आफ्नो आडमा सम्हालेर राख्यो । कुनै बेला एसियाकै ठूलोमध्येको एक मैदान मानिने यो टुँडिखेल भूमिगत जलभण्डार पुनर्भरणको स्रोतसमेत रहेको सम्पदाविज्ञहरू बताउँछन् ।

 

 

स्थानीय नेवारी समुदायका जात्रापर्व मात्रै होइन, बहुसांस्कृतिक जातीय धार्मिक उत्सवका बेला टुँडिखेल नै पहिलो रोजाइमा पर्छ अनि यसको राजनीतिक महत्त्व सबैभन्दा बढी छ ।पटक पटक चलेका प्रजातान्त्रिक संघर्षका दिनमा आन्दोलनकारीहरूले टुँडिखेलका कुनाकाप्चा छपक्कै छोपेथे । छेवैको सिंहदरबार अनि केही मास्तिरको नारायणहिटी राजदरबार यसका आक्रोशहरूलाई सुन्न बाध्य हुन्थ्यो । हिजोआजजस्तो हरेक जुलुस सडकमा निकालिरहनु पर्दैनथ्यो । टुँडिखेलको खुलामञ्चमा उभिएर शक्तिशालीहरूलाई ललकारे पुग्थ्यो । उत्सवमा रंगिनु परे टुँडिखेल । साथीभाइ, हितैषी भेट्नु परे टुँडिखेल ।

 

 

राजधानीको जीवनशैली बन्न पुगेको यो टुँडिखेल क्षेत्र आज राज्यसत्ताको आडमा दोहन गर्ने मानिसको सिकार बन्दै छ । गत कात्तिक अन्तिम साता केही जागरुक राजधानीबासीले आवाज नउठाएको भए सायद यो अमूल्य सम्पदाभित्र कंक्रिटको संरचना ठडिइसकेको हुने थियो । यसअघि नै यहाँ अनधिकृत रूपमा बसपार्क, पसल र पार्किङ स्थल निर्माण भइसकेको छ । के अब राज्यका निकायहरूमा पहुँच राख्ने लोभीपापी समूहले टुँडिखेललाई पनि विद्यालयका अभ्यास पुस्तिकामा लेखिएझैँ ‘खाली ठाउँ भर’ गर्न लागेकै हो ?सम्पदाको यो नग्न दोहनविरुद्ध तीन महिनायता रचनात्मक प्रदर्शनहरू भइरहेका छन् । कहिले चित्रकला, कहिले कविता, कहिले मन्तव्य अनि सांकेतिक प्रदर्शनहरूमार्फत सम्पदाप्रेमी जागृत भएका छन् । दुर्भाग्यवश, राजनीतिक वृत्तका केही मानिसले यस्ता प्रयासलाई विकासविरोधी या प्रतिपक्षी पार्टीको उक्साहट भनी लान्छना लगाउन थालेका छन् ।

 

 

जुनसुकै व्यवस्था होस् या सरकार, विगतका सम्पदा मास्ने अख्तियार तिनलाई छैन । टुँडिखेल नागरिकको खुला स्थान हो । टुँडिखेल कुनै बेला मल्लकालीन राजाहरू हुँदै राणाहरूसमेतको शक्ति अभ्यास गर्ने थलो थियो । सैनिकहरूको परेड खेल्ने चउर थियो । अब यो नागरिकको रचनात्मक खबरदारी र जीवन्त लोकतन्त्रको प्रतिमूर्ति बन्न गएको छ । खुलामञ्च क्षेत्र मास्ने अभियानमा सक्रिय ठेकेदारहरूलाई कडा कानुनी दायरामा ल्याउने, यहाँभित्र बनिसकेका विभिन्न संरचनालाई अन्यत्र सार्ने अनि ३० लाखभन्दा बढी नागरिक बस्ने राजधानीको पर्यावरण जोगाइराख्ने हो भने टुँडिखेल संरक्षण पहिलो प्राथमिकता बन्नुपर्छ ।शिक्षाविद् केदारभक्त माथेमाले अघिल्लो साता मार्टिन चौतारीको एक कार्यक्रममा आक्रोश पोख्दै टुँडिखेल जोगाउने अभियानलाई सत्ता पल्टाउने अभियान नठान्न चेतावनी दिएका थिए । उनीलगायत अगुवा नागरिक यतिबेला ‘अकुपाई टुँडिखेल’ अभियानमा क्रियाशील छन् । हरेक शनिबार खबरदारी गरिरहेका छन् । यसले अझै बृहत् स्वरूप र लक्ष्य पाउनुपर्छ ।

 

Share this news: