२०७६ फाल्गुन १७ , शनिवार

एनसेलमार्फत माइक्रोसफ्टले नेपाली कम्पनीहरुलाई क्लाउड तथा अन्य नवीन सेवा दिने

Ncell Logo

एनसेलमार्फत माइक्रोसफ्टले नेपाली कम्पनीहरुलाई क्लाउड तथा अन्य नवीन सेवा दिने

सुनाखरी न्युज/ काठमाडौँ – एनसेल प्राईभेट लिमिटेडले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स् अन्तर्गतका क्लाउड सर्भिस र अनलाइन मिटिङ् टुल लगायतका सेवाहरु नेपाली कम्पनीहरुलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको छ । गत हप्ता आयोजित एक कार्यक्रममा विभिन्न बैंक , व्यवसायीक घराना, एनजिओ, आईएनजिओका २५० भन्दा बढि प्रतिनिधी तथा अधिकारीहरुका माझ एनसेलले माइक्रोसफ्ट टियर वान क्लाउड सर्भिस प्रोभाइडर सीएसपी का लागि माइक्रोसफ्टसँग समझदारी भएको घोषणा गरेको हो । यो समझदारी अन्तर्गत एनसेलले विषेशगरी माइक्रोसफ्टका तीन सेवाहरु—अफिस थ्रिसिक्स्टिफाइभ, एज्योर र टिम्स् उपलब्ध गराउँन आफ्नो ध्यान केन्द्रित गर्नेछ ।

 

अफिस थ्रिसिक्स्टिफाइभ क्लाउडमा आधारित एक सेवा हो जसको प्रयोगले कार्यहरुमा प्रभावकारीता थप्दछ र कार्यलयमा सबैलाई अझ प्रोडक्टिभ बन्दै प्रभावकारीरुपमा एक अर्कासँग सम्पर्कमा रहन सहयोग गर्दछ । यसले जानकारीहरु पत्ता लगाउन, ज्ञानहरु बाड्न, आफ्ना सहकर्मीहरुसँग कुराकानी गर्न देखि लिएर योजनाहरु बनाई प्रशासनिक कामहरुमा लाग्ने सयम घटाई चुस्त रुपमा कार्यहरु गर्न सबल बनाउँदछ । यसले गर्दा व्यवसायहरुले आफ्नो बढि समय अझ नवीन कार्यहरुमा लगाई आफ्नो व्यवसाय अघि बढाउन सक्छन् । त्यसैगरी माइक्रोसफ्ट एज्योर माइक्रोसफ्ट म्यानेज्ड डेटा सेन्टरहरु मार्फत आफ्ना एप्लिकेसन र सेवाहरु बनाउन, टेस्ट गर्न, प्रयोगमा ल्याउन प्रयोग हुने क्लाउड कम्प्युटिङ् सेवा हो । यो सेवा प्रयोग गर्ने कम्पनीका आईटी टिमले आफ्नो एप्लिकेसन बनाउन, त्यसको व्यवस्थापन गर्न र त्यसलाई आफुलाई मनपर्ने उपकरण र फ्रेमवर्कहरु प्रयोग गरी व्यापकरुपमा परिचालन गर्न सक्छन् ।

 

त्यस्तै कार्यलयभित्र एकिकृत संचार र सहकार्यलाई सघाउन माइक्रोसफ्टको अर्को नविन सेवा माइक्रोसफ्ट टिम्स् रहेको छ । कार्यलयभित्रको आन्तरिक च्याट, भिडियो मिटिङ, फाइल स्टोरेज र एपलिकेशन इन्टिग्रेशन जस्ता विशेषता माइक्रोसफ्ट टिम्स्मा रहेको छ । यसले कार्यलयमा फाइल स्टोरेज, च्याट र अनलाइन मिटिङको लागि चुस्त वातावरण प्रदान गर्दछ । उक्त कार्यक्रममा आमन्त्रितहरुलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले भने, “सहकार्य गर्ने प्रद्धति व्यापकरुपमा परिवर्तन भईरहेको छ । आधुनिक कार्यस्थलले मानिसहरुलाई आफ्नो कार्यलय भवनमा मात्र सिमित नभई सजिलै भेट्न, सहकार्य गर्न र सम्पर्कमा रही रहन सहयोग गर्दछ । एनसेल र माइक्रोसफ्टले तिब्र रुपमा विकास भईरहेको सहकार्य गर्न सकिने क्षेत्रहरुमा ध्यान केन्द्रित गर्दै आफ्ना स्रोत र अनुभवहरुको समायोजन गरेको हो । यस्तो क्षेत्र दुवै कम्पनीहरुका लाति एक रणनीतिक बजार हो ।

 

“नेपालमा रहेका ग्राहकहरुलाई प्रत्यक्ष रुपमा क्लाउड सेवा प्रदान गर्ने गरी एनसेलसँग सहकार्य थालिएको हो,” दक्षिण एसियाका लागि माइक्रोसफ्टका चिफ पार्टनर अफिसर आन्ह फामले भने । “शुरुवातको चरणमा क्लाउड सेवा साना तथा मझौला उद्यम, व्यवसायहरु लगायतका क्लाइन्टहरुलाई दिने छौं । यो सहकार्यले नेपालको डिजीटल ईकोसिस्टम विकासमा योगदान पुर्याउने विश्वास लिएका छौं । साथै ग्राहकहरुले हाम्रो सेवाहरु भ्याल्यु एडेड सर्भिसका रुपमा पाउँनेछन् ।”यस रणनीतिक सहकार्य पश्चात गाहकले एनसेलको आधुनिक नेटवर्क सेवाहरु र सफ्टवेयर प्रविधिहरुमा प्रभुत्व जमाएको माइक्रोसफ्टका नयाँ कोलाबारेसन र कम्युनिकेसन सोलुसन्स्हरु लिन सक्नेछन् । यी सेवाहरुले कर्मचारीहरुको उत्पादकत्व बढाउँन योगदान गर्नेछ । विभिन्न डिभाइसहरुको प्रयोगमार्फत यी टुल्स्ले कम्पनी, समुह र व्यक्तिहरुलाई रियल टाइममा समन्वय गर्दै तदारुकताका साथ कार्यहरु गर्न सहजीकरण गर्दछ ।

 

विश्वस्तरिय सेवाहरु प्रदान गर्ने र उच्स्तरको कनेक्टिभीटी र डिजीटाईजेसनको लाभ प्रदान गर्ने कम्पनीको प्रतिवद्धता बमोजिम एनसेलले यी सेवाहरु आफ्नो एनसेल फर बिजनेस एनफरबी अन्तर्गत माइक्रोसफ्टसँगको सहकार्यमा नेपालमा ल्याएको हो । यी सेवाहरुले नेपालका साना तथा ठूला सबै व्यवसायहरुलाई उनीहरुको लक्ष्य प्राप्ति गर्न सहगोग पुर्याउने विश्वास लिईएको छ ।

Share this news: