२०८१ बैशाख ७ , शुक्रवार

विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र प्रधानमन्त्री प्रचण्डबीच शिष्टाचार भेट

सुनाखरी न्युज / काठमाडौं । विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष श्री मार्टिन रेजरले आज सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा सम्माननीय प्रधानमन्त्री दाहालले विश्व बैंकसँगको नेपालको ६ दशक भन्दा लामो सहकार्यको स्मरण गर्दै नेपालले विकास प्रक्रियामा भोग्नु परेका जलवायुजन्य चुनौतीहरु र हरित विकासका सम्भावना बारे छलफल गर्नु भयो ।

विश्व बैंकले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिका प्रति धन्यवाद दिँदै मुख्यत: जलविद्युतको विकासको लागि वित्त व्यवस्थापनमा विश्व वैंकले खेलेको समन्वयकारी भूमिकाको लागि धन्यवाद दिनुभयो ।

माथिल्लो अरुण आयोजनाको लागि विश्व बैंकले वित्तीय स्रोत जुटाउन बहन गरेको समन्वयकारी पहलको लागि धन्यवाद दिंदै नेपाल सरकारको प्राथमिकतामा रहेको सो आयोजना कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गरिँदा अन्य आयोजनाहरुमा स्रोतको कमी हुन नदिने तर्फ ध्यानाकर्षण गराउनु भयो ।

नेपालको जलविद्युत विकासबाट नेपाल मात्र नभई छिमेकी मुलुकहरु- भारत तथा बंगलादेश समेत लाभान्वित हुने साथै हरित र स्वच्छ उर्जाको विकासबाट जलवायु परिवर्तनका असरहरु न्यूनीकरण भै क्षेत्रीय तथा विश्वका सबै जनताले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभ पाउने बताउनुभयो ।

हालै भएको भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा नेपाल भारत दीर्घकालीन सम्झौता मार्फत आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत लैजाने घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै यसले जलविद्युत विकासमा नयाँ संभावना खोलेको बताउनु भयो साथै नेपालको जलविद्युत विकासमा सहकार्य गर्न बंगलादेशसंग पनि छलफल भैरहेको जानकारी गराउनु भयो ।

भेटका क्रममा बैंकका उपाध्यक्ष श्री मार्टिनले नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्दो सहयोग गर्न विश्व बैंक सधै तत्पर रहेको बताउँदै उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्न सुझाव दिनुभयो । सुधारका क्षेत्रमा हातेमालो गर्न विश्व बैक सधै अग्रसर हुने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा विश्व वैंकका तर्फबाट पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष श्री वांग्जी चेन, उपक्षेत्रीय निर्देशक श्री फारिस हद्दाद जर्भोस लगायत विश्व बैंक तथा अर्थ मन्त्रालयका अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।