२०८० चैत्र १६ , शुक्रवार

विपन्न बिरामीको निःशुल्क उपचार गराउन मन्त्रालयको निर्देशन

सुनाखरी न्युज /  काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको लागि निःशुल्क उपचार अनिवार्यरूपमा उपलब्ध गराउन निर्देशन दिएको छ । आइतबार मन्त्रालयले प्रेसविज्ञप्ति जारी गर्दै गरिब पहिचान परिचयपत्रका आधारमा १० प्रतिशत शय्यामा गरिबको निःशुल्क उपचार गर्न अस्पतालहरूलाई निर्देशन दिएको हो ।

 

‘स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ दफा ७० घ मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको लागि कूल शय्याको दश प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार अनिवार्यरूपमा गराउनुपर्छ’, मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

 

‘मन्त्रीस्तरकै मिति यही जेठ १९ गतेको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्म ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय र बेवारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहका वडा कार्यालयबाट गर्ने गराउने सिफारिस गरिब पहिचान परिचयपत्र समेतलाई आधारमानी अस्पतालहरूले स्वीकृत कुल शय्याको १० दश प्रतिशत शय्यामा त्यस्ता बिरामीहरूलाई निःशुल्क उपचार हुने व्यवस्था मिलाउन र अनिवार्य अनुगमन गर्नु गराउनु हुन् अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।