२०८० चैत्र १५ , बिहिवार

नेपालमा महिला पत्रकार कम हुँदा अमेरिकालाई चिन्ता

सुनाखरी न्युज/ काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले नेपालमा महिला पत्रकारको संख्या कम भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

 

काठमाडौंस्थित अमेरिकी राजदूतावासमा हिजो विभिन्न बिटमा समाचार लेख्ने महिला पत्रकारहरुलाई बोलाएर उनले त्यस्तो चिन्ता जनाएका हुन् । भेटमा राजनीति, लैङ्गिक हिंसा, कानुन, मानव अधिकारलगायत अन्य मुद्दामा समाचार लेख्ने २० जना महिला पत्रकार सहभागी थिए । भेटका क्रममा राजदूत महिला थम्पसनले नेपालमा पुरुषको तुलनामा महिला पत्रकारको संख्या निकै न्यून भएकोमा चिन्ता व्यक्त गरेको दूतावासले जानकारी दिएको छ । नेपालमा महिला पत्रकारको संख्या ३० प्रतिशतभन्दा कम रहेको तथ्यांक सुनाउदै उनले महिला पत्रकारहरुले हरेक पाइलामा उत्पीडन र अनुचित पदोन्नतिलगायतका चुनौती खेप्नुपरेको दुःखेसो पनि गरेका थिए ।

 

दूतावासको सामाजिक सञ्जालमा स्टाटस् लेख्दै उनले महिला पत्रकारमाथि समान व्यवहार हुनुपर्नेमा जोड दिएका छन् । भनेका छन्,‘नेपालमा महिला पत्रकारहरुको जनसंख्या ३० प्रतिशतभन्दा कम छ । महिला पत्रकारहरुले उत्पीडन र अनुचित पदोन्नति दरहरुलगायत चुनौतीहरुको सामना निरन्तर गरिरहन्छन् ।’