२०८१ बैशाख १३ , बिहिवार

चिनियाँ नागरिकले गरे प्रहरी कार्यालयमै नाराबाजी

सुनाखरी न्युज/ काठमाडौँ । काठमाडौंको महादेवखोला र चण्डोलमा कार्यालय राखेर साइबर अपराध गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार १९ जनालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमध्ये ९ जना चिनियाँ नागरिक थिए ।

 

बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले चिनियाँ नागरिकको गिरफ्तारीबारे जानकारी दिँदै उनीहरुलाई सञ्चारकर्मीमाँझ सार्वजनिक गर्दा चिनियाँ नागरिकले विरोध जनाए । उनीहरुले उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर परिसरमै नाराबाजी मात्रै गरेनन्, कार्यालय परिसरमा सुतिदिए । हत्कडीसहित बाहिर ल्याइएका उनीहरुले कार्यालय अगाडि सुतेर विरोध जनाएका थिए । तस्वीर खिच्न खोज्नेलाई समेत दुव्र्यवहार गर्न खोजेका थिए । चिनियाँ भाषामा बोलेकाले उनीहरुले के भने भन्ने त बुझिएन । तर, अन्तिममा एक जनाले ह्वाई (किन ?) भन्दै प्रश्न गरेको बुझिन्थ्यो ।

 

कार्यालयका एक अधिकृतका अनुसार पक्राउ परेर हत्कडी लगाएपछि उत्तेजित हुने चिनियाँ नागरिकको पुरानै व्यवहार हो । ‘पहिले पनि पक्राउ परेका बेला प्रहरी र अरुलाई आक्रमण गर्न खोजेको देखिएकै हो’, ती अधिकृतले भने, ‘मार्सल आर्ट्स सिकेका चिनियाँले प्रहरीलाई सधैं हैरान पार्ने गरेका छन् ।’