२०८१ बैशाख १३ , बिहिवार

 एमालेको रक्तदानमा ४४ युनिट रगत संकलन

शिशिर पौडेल / पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १९ ले आयोजना गरेको रक्तदान कार्यक्रममा ४४ युनिट रगत संकलन भएको छ। पुरून्चौरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य दामोदर वैरागी पौडेलले पहिलो रक्तदाता अनुषा पहारी पौडेललाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले एमाले सरकारबाट बाहिर भएपनि जनताका समस्यालाई सदैव उठाइरहने बताउनुभयो। उहाँले रक्तदान मानवीय कार्य भएकाले, खेर जाने रगतले अरू कसैको जिवन वचाउन सकिने बताउनुभयो। एमाले वडा कमिटीका अध्यक्ष विष्णु प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटीका सचिवालय सदस्य माधव बास्तोला, सदस्य दीपक पौडेल, सन्जीव कोइराला, उमानाथ गौतम जिल्ला कमिटीका सदस्य सुरेन्द्र मान सिंह भण्डारी, अर्जुन अधिकारी, महानगर कमिटीका कृष्ण गौतम, लक्ष्मी अधिकारी, शेखर गौतम, वडा सदस्य विकास आचार्य, नवराज केसी, कल्पना सुनार, दुर्गादेवी वस्नेत लगायतले रक्तदानको महत्वका विषयमा बोलेका थिए।

 

एमालेले जारी राखेको मिसन ग्रासरूट अभियान अन्तर्गत आयोजना गरिएको कार्यक्रममा पार्टी निकट जनवर्गीय संगठनको सहकार्य रहेको स्थानिय नेता प्रदीप गौतमले जानकारी दिनुभयो। कार्यक्रमको सञ्चालन वडा कमिटीका सचिव विकास गौतमले गर्नुभएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको थियो।