२०८१ बैशाख १३ , बिहिवार

ब्याजदर एकल अंकमा झार्न होटल संघ नेपालको माग

सुनाखरी न्युज/ काठमाडौं। ब्याजदर एकल अंकमा झार्न होटल संघ नेपालले माग गरेको छ । सोमबार पत्रकार सम्मलेन गर्दै संघले होटल क्षेत्रलाई कठिन आर्थिक चक्रव्यूबाट बचाई पुनर्जिवन प्रदान गर्न भन्दै ब्याजदर एकल अंकमा झार्न माग गरेको हो ।

 

‘सरकार, राष्ट्र बैंक तथा सम्वद्ध बैंक एवं वित्तीय संस्थाहरुबाट होटल क्षेत्रलाई कठिन आर्थिक चक्रव्यूबाट बचाई पुनर्जिवन प्रदान गर्न ऋणको साँवा व्याज भुक्तानीको भाका व्यवहारिक ढंगमा बढाउने लगायत कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण नितान्त आवश्यक रहेको तथा सदा बढ्दै गएको व्याजदर एकल अंकमा झार्न होटल संघ नेपाल जोडदार माग गर्दछ’, संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

बैंक तथा वित्तीय संस्थाहरुबाट होटल व्यवसाय प्रवद्र्धन र विकासका लागि प्रवाह भएका ऋणका साँवा व्याज भुक्तानीमा थेग्नै नसकिने गरी भइरहेको निरन्तरको चरम प्रतिकूल तागेता बारे देशैभरीका प्रतिष्ठित सदस्य होटल प्रतिष्ठानहरुबाट आएका गम्भीर प्रकृतिका गुनासोहरु प्रति संघले ध्यानाकर्षण गराएको छ ।

यसका साथै सरकारका नीति निर्माताहरु, सम्वद्ध सरकारी निकाय लगायत राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुमा बढ्दै गएको समस्या समाधानका लागि गरिएको पटक पटकको बैठक, ज्ञापनपत्र, सुनुवाई लगायतका प्रयासहरुबाट हालसम्म पनि कुनै वाञ्छित नतिजा नआएको संघको गुनासो छ ।

 

ऋणको साँवा व्याज बुझाउने जिम्मेवारी ऋणी स्वयम्को हुँदा हुँदै पनि कोभिड महामारीको झन्डै ३ वर्ष अवधिमा स्वास्थ्य प्रोटोकल, लकडाउन लगायतका नियन्त्रणमुखी नीति नियम स्वयम् सरकारबाटै अवलम्बन भएको छ । यस अवस्थामा महामारीको प्रत्यक्ष मारमा परी शून्यको अवस्थामा झरेको होटल व्यवसाय कारोबारलाई सरकारी वित्तीय मौद्रिक लगायतका आर्थिक नीति नियममा कुनै सरोकार नराखी अन्य उद्योग व्यवसायलाई प्रदान गरिएको व्यवस्था एवं व्यहारबाट समेत वञ्चित गरिएको हुँदा नेपालको होटल क्षेत्र ह्रासोन्मुख अवस्थामा पुगेको छ ।

 

वर्तमानमा होटलहरु सञ्चालनमा रहेता पनि चालू खर्च धान्ने समेतको आय हुन नसक्दा घाटामा सञ्चालित छन् । धेरै नयाँ होटलहरुको बजार प्रवेशबाट मागभन्दा आपूर्ति कैयन गुणाले बढी रहेको हुँदा होटलको कारोबारको मूल्य घटाउन ठूलो चाप परेको छ । राष्ट्रिय वार्षिक बजेटभन्दा बढी परिमाणको लगानी भइसकेको नेपाली होटल क्षेत्रलाई सरकारले हालसम्म पनि उद्योग सरहको मान्यता समेत नदिएकाउ प्रति संघले खेद प्रकट गरेको छ ।

 

व्यवसायको आयबाट ऋणको साँवा व्याज तिर्न सक्ने अवस्थामा पुर्याउन हालको विकास क्रममा विद्यमान विमानस्थल, राजमार्ग लगायतका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन जस्ता अतिआवश्यकीय पूर्वाधारको विकास हुँदै गएमा २०२५ भन्दा अगाडि सम्भव नरहेको देखिएको छ । सरकार, नेपाल राष्ट्र बैंक, सम्वद्ध बैंक तथा वित्तीय निकायहरुले हालकै रवैया कायम राखी समस्या समाधानमा पहल नहुने हो भने नेपाली होटल व्यवसाय क्रमिकरुपमा धरासायी हुने निश्चित छ । सो अवस्थामा होटल संघ नेपालले सदस्य होटलहरुको हकहित संरक्षणमा व्यवसाय बन्द गर्ने समेतको विकल्पमा पहल गर्नुपर्ने बाध्यकारी परिस्थिति सिर्जना हुन नदिन सदैव सजग रहेको संघले जनाएको छ ।