२०८० चैत्र १६ , शुक्रवार

अभिनेता तथा गायक प्रशान्तले बलिउडमा गरे डेब्यु

सुनाखरी न्युज/ काठमाडौं। ‘गोर्खा पल्टन’ फेम्ड अभिनेता तथा गायक प्रशान्त तामाङले भारतीय सिरिज ‘पाताल लोक’को दोस्रो श्रृंखलामार्फत बलिउडमा डेब्यु गरेका छन् । तामाङले इन्स्टाग्राममार्फत ‘पाताल लोक २’ सिरिजको छायांकन सकिएको जानकारी गराएका छन् ।

 

गत महिनादेखि दार्जिलिङ क्षेत्रमा यो वेब-सिरिजको छायांकन हुँदै थियो । आइतबार सिरिजको छायांकन सकिएको प्रशान्तले जनाएका छन् । अमेजन प्राइमको यो सिरिजको शीर्ष भूमिकामा बलिउड अभिनेता जयदीप अलवात छन् । यो सिरिजले एक हाइप्रोफाइल घटनाको छानबिन गर्न खटिएको प्रहरी अधिकारीको कथा भन्छ । दोस्रो सिजनमा उक्त मुख्य पात्रले अन्डरवर्ल्ड समूहसँग गर्ने संघर्षलाई प्रस्तुत गरिनेछ ।

 

शीर्ष भूमिकामा जयदीप स्वयं छन् । नियो नोइर र क्राइम थ्रिलर जनरामा बनेको यो सिरिज तरुण तेजपालद्वारा लिखित पुस्तक ‘द स्टोरी अफ माइ असासिएन्स’मा आधारित छ । अविनाश अरुण र प्रसित रोयले सिरिज निर्देशन गरेका हुन् । प्रशान्त अभिनित नेपाली फिल्म ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शनको तयारीमा छ ।