२०८१ बैशाख १३ , बिहिवार

ब्राजिललाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया विश्वकप २०२२ को सेमिफाइनल पुग्यो

सुनाखरी न्युज/ दोहा ।
ब्राजिलले सन् २००२ को फाइनलमा जर्मनीलाई २–० ले पराजित गर्दै कीर्तिमान पाचौंपल्ट विश्वकपको उपाधि जितेपछि नकआउट चरणमा युरोपेली टिमलाई हराउन सकेको छैन । यसले कतारमा पनि निरन्तरता पायो । यसपालि ब्राजिललाई क्वाटरफाइनलमा सिकार बनाउने टिम रह्यो क्रोएसिया ।

क्रोएसियाले मुख्य प्रतियोगितामा पछिल्ला नौमध्ये आठ खेल अतिरिक्त समयसम्म खेलेको हो । उसले कतार संस्करणमा फाइनल प्रवेशका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । राति नै भएको अर्को क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई टाइब्रेकरमै ४–३ ले हराएको हो ।

चार वर्षअघिको उपविजेता क्रोएसियाले उपाधिको मुख्य दाबेदार मानिएको ब्राजिललाई एजुकेसन सिटी स्टेडियममा शुक्रबार निर्धारित समयमा गोलरहित रोकेको थियो । ३० मिनेटको अतिरिक्त समय १–१ मा टुंगिएपछि क्रोएसिया टाइब्रेकरमा ४–२ ले ब्राजिलको चुनौती समाप्त पार्दै विश्वकप २०२२ को सेमिफाइनल पुग्ने पहिलो टिम बनेको हो ।

 

क्रोएसियाको जितमा घरेलु क्लब डिनामो जाग्रेबका २७ वर्षीय गोलकिपर डोमिनिक लिभाकोभिचले फेरि एकपल्ट उत्कृष्ट प्रदर्शन गरे ।

अन्तिम १६ मा जापानविरुद्ध टाइब्रेकरमा हात पारेको जितमा दुई पेनाल्टी रोकेका उनले दोस्रो हाफ र अतिरिक्त समयमा नेयमर, रिचार्लिसन, कासेमिरोका शृंखलाबद्ध आक्रामण पालैपालो निस्तेज पारेका थिए । उनले पेनाल्टी सुटआउटमा ब्राजिलको पहिलो प्रहारमै आएका रियल म्याड्रिडका २१ वर्षीय फरवार्ड रोड्रिगोले प्रहार गरेको बल बायातर्फ डाइभ गर्दै रोकेर क्रोएसियाको जितको आधार तय गरिदिए ।

क्रोएसियाका चारै खेलाडी निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचको प्रहार सटिक रह्यो । त्यसैले ब्राजिलको चौथो प्रहारमा आएका मारक्विन्होजले हानेको बल पोलमा लागेर फर्किएपछि टाइब्रेकरमा ४–२ को जित रच्दै क्रोएसिया तेस्रोपल्ट विश्वकपको अन्तिम चारमा प्रवेश गर्यो । सन् २०१८ को फाइनलमा फ्रान्ससँग ४–२ ले हारेको क्रोएसिया १९९८ मा पनि सेमिफाइनल पुगेको थियो । क्रोएसियाले जतिपल्ट समूह चरण पार गरेको छ, त्यति नै पल्ट विश्वकपको सेमिफाइनल यात्रा गरेको छ ।

रोनाल्डो, रिभाल्डो, काफु, रोबर्टो कार्लोस, रोनाल्डिन्होको उत्कृष्ट प्रदर्शनमा दुई दशकअघि विश्वकप विजेता भएपछि ब्राजिलको भने आफैंले आयोजना गरेको संस्करण ९२०१४० बाहेक सबैमा क्वटरफाइनलबाटै बाहिरिने क्रम रोकिएन । उसले सन् २००६, २०१०, २०१८ हुँदै २०२२ मा आएर पनि अन्तिम आठमा हार बेहोरेको हो । युगोस्लाभियाबाट टुक्रिएर स्वतन्त्र राज्यको रूपमा स्थापित क्रोएसियाविरुद्ध ब्राजिलले विश्वकपमा पहिलो हार बेहोरेको हो । यसअघिका दुई खेल ब्राजिलले जितेको थियो ।

आठ वर्षअघि समूह चरणमा ब्राजिलले क्रोएसियालाई ३–१ ले पराजित गर्दा नेयमरले दुई गोल गरेका थिए । कतारमा पनि नेयमरकै उत्कृष्ट गोलमा ब्राजिल सेमिफाइनल नजिक पुगेको थियो । उनले लुकास पाक्वेएटाले दिएको बलमा राम्रो मुभ बनाउँदै गोलकिपर लिभाकोभिचलाई छक्याएर आकर्षक गोल गरी अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी समयमा ब्राजिललाई १–को अग्रता दिलाएका थिए । यससँगै नेमयरले ब्राजिलका लागि सबैभन्दा बढी गोल गरेका पेलेको ७७ गोलको कीर्तिमान पनि बराबरी गरे ।

खेल सकिन १५ मिनेट बाँकी थियो, जसमा क्रोएसियालाई रोक्न सके ब्राजिल सेमिफाइनल पुग्न सक्थ्यो । तर, नेयमरले दिलाएको अग्रता धेरैबेर टिकेन । ओर्सिचको पासमा ब्रुनो पेट्कोभिचले पेनाल्टी क्षेत्रको ठीकभित्रबाट प्रहार गरेको बल ब्राजिली डिफेन्डरमा डिफ्लेक्ट हुँदै जाली चुम्न पुगेपछि क्रोएसियाले ११७ औं मिनेटमा १–१ को बराबरी गर्‍यो । त्यसमा गोलकिपर एलिसन बेकरको केही सीप चलेन । अतिरिक्त समयको अन्तिम क्षणमा कासेमिरोले प्रहार गरेको बल लिभाकोभिचले नरोकेको भए खेलको कथा फरक हुनसक्थ्यो । पेनाल्टी शुटआउटमा कासेमिरो र पेड्रोले मात्रै गोल गर्न सके ।

क्रोएसिया केही हदसम्म टाइब्रेकरमा भाग्यमानी टिम हो । उसले २०१८ मा पनि अन्तिम १६ मा डेनमार्क, क्वाटरफाइनलमा आयोजक रुसलाई टाइब्रेकरमा पराजित गरेको थियो भने सेमिफाइनलमा इंग्ल्यान्डलाई अतिरिक्त समयमा २–१ ले हराएर पहिलोपल्ट फाइनलमा स्थान बनाएको थियो ।