२०८१ बैशाख ४ , मंगलबार

विश्वकप फुटबल २०२२: अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा प्रवेश

सुनाखरी न्युज / काठमाडौं । फिफा विश्वकप २०२२ को सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाले आफ्नो स्थानमा पक्का बनाएका छन् । पाँचपटकको विश्वविजेता ब्राजिललाई स्तब्ध पार्दै क्रोएसिया सेमिफाइनल पुगेको हो ।

 

गएराती एजुकेशन सिटी रंगशालामा भएको खेलमा दुवै टोलीले गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको सुरुवातमै नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर खेलको अन्त्यतिर क्रोएसियाले गोल फर्काउँदै बराबरीमा पुर्‍याएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा ब्राजिलले दुई पेनाल्टी मिस गर्दा क्रोएसियाले ४-२ गोलले दोस्रोपटक टाइब्रेकरबाट जीत हात पारेको छ । यसअघि पनि क्रोएसियाले टाइब्रेकरमा जापानलाई पराजित गर्दै क्‍वाटरफाइनलमा स्थान पक्का बनाएको थियो ।

 

यो जीतसँगै क्रोएसियाका गोल रक्षक डोमिनिक लिभाकोभिच फिफा विश्वकप २०२२ को नकआउट चरणमा लगातार दोस्रोपटक प्लेयर अफ द म्याच बन्न पुगेका छन् । फिफा विश्वकप २०२२ को आज भएको दोस्रो क्‍वाटर फाइनलमा दुई पटकको विश्वविजेता अर्जेन्टिनाले नेदरल्याण्ड्समाथि जीत निकाल्दै सेमिफाइनल यात्रा पक्का बनाएको छ । टाइब्रेकरमा ४-३ को जीतका साथ दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना उपाधी नजिक पुगेको हो । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा रोकिएपछि अतिरिक्त समय हुँदै खेल टाइब्रेकरमा लम्बिएको थियो । २-० को स्पष्ट अग्रतालाई अर्जेन्टिनाले पछिल्लो सात मिनेट रोक्न नसक्दा बराबरीमा पुगेको हो ।

 

टाइब्रेकरमा नेदरल्याण्ड्सका कप्तान भर्जिल भाण्डाइकले पहिलो प्रहारमा गोल गर्न नसक्दा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको पहिलो प्रहार जाली चुम्न सफल भयो । यो जीतसँगै लियोनल मेस्सीको आफ्नो कप्तानीमा अर्जेन्टिनालाई विश्वकप दिलाउने सपना पुरा हुने नजिक पुगेको छ । अब अर्जेन्टिनाले सेमिफाइनलमा ब्राजिललाई स्तब्ध पारेको टोली क्रोएसियासँग सामना गर्नेछ ।

 

फिफा विश्वकप २०२२ मा आज दुइवटा क्‍वाटर फाइनल खेलहरु हुँदैछन् । पहिलो खेल पोर्चुगल र मोरक्कोबीच बेलुकी ८.४५ बजे खेलिंदैछ भने दोस्रो खेल मध्यराती १२.४५ बजे इङ्ल्याण्डले साविक विजेता फ्रान्सको सामना गर्दैछ ।