२०८१ बैशाख १३ , बिहिवार

आँखाका बिरामीका लागि निःशुल्क ई–रिक्साको व्यवस्था

सुनाखरी न्युज/ काठमाडौं । धनुषाको ढल्केबरस्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालले आँखाका बिरामीका लागि निःशुल्क ई–रिक्साको व्यवस्था गरेको छ। अस्पतालले आँखा जँचाउन आउनेजाने बिरामीका लागि ई–रिक्साको निःशुल्क व्यवस्था गरेको हो।

 

आँखा जाँच गराउन आउनेहरूलाई सहजताका लागि निःशुल्क ई–रिक्साको व्यवस्था मिलाइएको रेयुकाई एईको मासुनागा आँखा अस्पतालका महासचिव हीरामणि शर्माले बताउनुभयो। उहाँले आँखाका बिरामीलाई थप आर्थिक भार नपरोस् भनेर यो व्यवस्था मिलाइएको जानकारी दिनुभयो। ढल्केबर चोकदेखि करिब एक किलोमिटर पूर्व–उत्तरमा आँखा अस्पताल पर्दछ। सो अस्पतालसम्म पुग्न अन्य भाडाको सवारी प्रयोग गर्दा एक सयदेखि दुई सय रुपियाँसम्म भाडा पर्छ। असोज महिनाबाट सञ्चालनमा आएको सुविधा सम्पन्न रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा अहिले दैनिकजसो एक सयभन्दा बढी आँखाका बिरामी उपचारका लागि आउने गरेका छन्।

 

अमेरिकन सामाजिक संस्था डोली इन्टर्मड इन्टरनेसनलको करिब तीन करोड लागतमा निर्माण भएको यो आँखा अस्पतालमा आँखासम्बन्धी सम्पूर्ण उपचारको सुविधा उपलब्ध रहेको महासचिव शर्माले बताउनुभयो। अस्पतालमा नेत्ररोग विशेषज्ञ चिकित्सकद्वारा उपचार एवं शल्यक्रियाका लागि चाहिने सबै अत्याधुनिक उपकरणसहित सेवा प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो।