२०८१ बैशाख १३ , बिहिवार

बतास फाउन्डेसनद्वारा गण्डकी क्षेत्रीय अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

सुनाखरी न्युज/ काठमाडौं । बतास अर्गनाईजेसन अन्तर्गतको गैरनाफामूलक परोपकारी संस्था बतास फाउन्डेसनको पहल र अगुवाइमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) लाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ ।

 

गण्डकी प्रदेशकै ठुलो सरकारी अस्पतालमा हस्तान्तरण गरीएको उक्त प्लान्टले दैनिक १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालद्वारा आवश्यक पूर्वाधार निर्माण भएपश्चात उक्त प्लान्ट जडान गरीनेछ । अक्सिजन अभावका कारण कोभिड महामारीमा सङ्क्रमितले उपचार पाउन नसकेको तितो यथार्थलाई हृदयङ्गम गर्दै बतास फाउन्डेसनले गत वर्षको सुरुवाती महिनामा उच्च क्षमताको अत्याधुनिक अक्सिजन प्लान्ट स्थापनाका लागि रकम सङ्कलन महाअभियान सुरु गरेको थियो । बतास फाउन्डेसन र बतास अर्गनाइजेसनबाट गरी कुल रु. ५५ लाख रुपैयाँ बीउ पुँजी राखेर ‘रु. १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नाराका साथ चलाइएको अभियान अन्तर्गत कर्पोरेट हाउसहरू र पोखरेली जनसमुदायको सहभागिता मार्फत रु. ३,४५,१७,५५५ रुपैयाँ सङ्कलन भएको थियो ।

 

निर्धारित समय भन्दा निकै ढिलो मात्र प्लान्ट हस्तान्तरण गर्न सकेकोमा भने हामी क्षमा प्रार्थी छौँ । हामीले मिति २०७८/०२/०६ गते नै फ्रान्समा प्लान्ट खरिद गरिसकेका थियौँ । तर, अघिल्लो सरकार कार्गो कम्पनी र आयातकर्ताबिचको असमझदारीका कारण प्लान्ट ल्याउन ढिलाइ भयो। पछिल्लो समयमा भने रुस–युक्रेन युद्धका कारण कार्गो ढुवानीमा समस्या आउँदा थप विलम्ब भएको थियो । परिणामतः प्लान्ट एयर कार्गोबाट ढुवानी गर्ने सम्झौता भए पनि सो सम्भव नभएपछि जल तथा स्थल मार्गमार्फत ढुवानी गरी हस्तान्तरण गर्न सफल भएका छौँ । अक्सिजन प्लान्ट हस्तान्तरण समेत भइसकेको अवस्थामा यसको सम्पूर्ण आयव्यय विवरण निकट भविष्यमा नै सार्वजनिक गर्ने प्रतिवद्द छौँ।

 

यो अभियानका लागि सहयोग रकम जुटाउने तथा प्लान्ट स्थापनासम्बन्धी कार्य अघि बढाउने लक्ष्यसहित गठित तदर्थ समितिको संरक्षकमा पोखरा महानगरपालिकाका तत्कालीन मेयर मानबहादुर जिसी रहनु भएको थियो। त्यस्तै, संयोजकमा बतास अर्गनाइजेसन तथा फाउन्डेसनका अध्यक्ष आनन्दराज बतास, कोषाध्यक्षमा अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेल तथा सदस्यहरुमा केसी ग्रुपका किरण केसी, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विश्व पालिखे, एभरेष्ट एफएमका प्रबन्ध सञ्चालक दीपेन्द्र श्रेष्ठ, सुपरमादी हाइड्रो प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गाना तथा सेलवेज डिपार्टमेन्टल प्रालिका अध्यक्ष सुशील मान प्रधानाङ्ग रहनुभएको छ ।

 

एउटा महत्त्वपूर्ण कार्य सफल भएको छ। यसले हामी पोखरावासीलाई गौरवान्वित पनि बनाएको छ। बतास फाउन्डेसनको सक्रियतामा सञ्चालित यो परोपकारी कार्यमा साथ दिने सम्पूर्ण सहयोगी, सञ्चारकर्मी, सर्वसाधारण तथा शुभचिन्तकहरू प्रति फाउन्डेसन आभार प्रकट गर्दछ ।