२०८१ बैशाख ८ , शनिवार

तोरीखेतीले राम्रो बजार पाए पछि किसान तोरीखेतीतर्फ आकर्षित

सुनाखरी न्युज/ काठमाडौं । नवलपरासी मा किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढेको हो । तोरीको पकेट क्षेत्र मानिएको यस जिल्लामा अधिकांश स्थानमा अहिले तोरी फुलेको देख्न सकिन्छ ।

अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् । कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोट नगरपालिका क्षेत्रलाई तोरीको पकेट क्षेत्र मानिन्छ । तर तोरीखेतीका लागि किसान आकर्षित भइरहँदा चुनौती र समस्या उत्तिकै रहेको गुनासो कायमै छ । बाली लगाउने सुरुआती दिनदेखि नै मल नपाएका किसान तोरी लगाउँदा समयमा मल उपलब्ध नहुनु नै मुख्य समस्याको रूपमा देखापरेको बताउँछन् । अहिले तोरीको बजार खोज्नु नै पर्दैन, घरैबाट बिक्री हुन्छ ।खेती लगाउँदा मल नपाउने समस्याले कृषकलाई सधैँ पिरोल्ने गरेको छ । धान रोप्ने समयमा मल नपाएका किसानले तोरी लगाउँदा पनि मलको अभाव झेलिरहेका छन् ।

पछिल्ला वर्षमा तोरीको भाउ किसानले राम्रै पाउन थालेका छन् । गाउँघरमा अहिले प्रतिक्विन्टल तोरीको मूल्य ११ हजारसम्म पर्ने गरेको छ । ८० देखि ९० दिनमा तोरीखेती तयार हुन्छ । आफैँले उत्पादन गरेको तोरीको तेल गुणस्तरीय हुने र पिनासमेत मलका रूपमा प्रयोग गर्न पाइने भएकाले पनि किसान तोरीखेतीप्रति आकर्षित हुँदै गएका जनाइएको छ ।