२०८१ बैशाख १३ , बिहिवार

८ ठेकेदारले बुझाएनन् स्पष्टीकरण, कालोसूचीमा राख्न सिफारिस

सुनाखरी न्युज/ काठमाडौं । कालोसूचीमा सिफारिस भएका ८ ठेकेदार कम्पनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई अटेरी गरेका छन्।

 

कालोसूचीमा राख्न नपर्ने आधार भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिए पनि उनीहरूले हालसम्म कुनै जवाफ नपठाएको कार्यालयले जानकारी दिएको छ। उनीहरूलाई थप सात दिनभित्र जवाफ पठाउन कार्यालयले अन्तिम मौका दिएको छ। सुदूरपश्चिम विश्वविद्यालय मातहतको दुर्गालक्ष्मी क्याम्पसले गुण निर्माण सेवा नामको ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो। त्यस्तै सुर्खेत सडक डिभिजनले सिरुवा/कविर/सुनकोशी जेभीलाई सिफारिस गरेको छ।

 

पर्साको जगरनाथपुर गाउँपालिकाले मुस्कान सप्लायर्स, भरतपुर महानगरपालिकाले अनुष्ठान कन्स्ट्रयाक्सन, पोखराको सडक डिभिजनले सिरुवा कन्स्ट्रक्सन, वीरगञ्ज महानगरपालिकाले दिल्ली ट्रेडिङ र खैरहनी नगरपालिकाले जयगढी माई निर्माणलाई कालोसूचीमा सिफारिस गरेको छ।