२०८० चैत्र १६ , शुक्रवार

वैज्ञानिक विधि अपनाई पीबीएस दानाबाट रोजिटा जातको नयाँ आलु बिउ उत्पादन

सुनाखरी न्युज/ काठमाडौं । रामेछापमा नयाँ प्रजातिको आलुको बिउँ उत्पादन गरिएको छ । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका १ डडुवामा परम्परागत बिउलाई विस्थापित गर्दै स्क्रिन हाउसको ल्याबमा इन–भिट्रो प्लान्ट वैज्ञानिक विधि अपनाई पीबीएस दानाबाट रोजिटा जातको नयाँ पुस्ताको आलु बिउ उत्पादन गरेको हो ।

नयाँ प्रजातिको आलुको बीउ उत्पादनसँगै अझ राम्रो आलु उत्पादन हुने आशा गरिएको छ । यसले शैलुङ्ग क्षेत्रको आलु खेतीमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको स्थानीय किसान दावासाङबु शेर्पाले बताउनु भयो । नयाँ बीउसँग शैलुङ्गमा हाल उत्पादन भइरहेको आलु दुई गुना बढी आलु उत्पादन हुने अनुमान गरिएको छ ।शैलुङ्गमा उत्पादित आलुको बीउ शैलुङ्ग क्षेत्र बाहेक रामेछाप जिल्लाका अन्य क्षेत्र र देश भरी नै पठाउने योजनामा स्थानीय किसान लागेका छन् । रोजिटा जातको बिउलाई आलुको दुर्लभ बिउ मानिन्छ । यसमा रोग प्रतिरोधात्मक क्षमता र उत्पादन क्षमता अधिक हुने गर्दछ ।

बीउ आलु उत्पादनको लागि संरचना निर्माणमा मसला बाली विकास केन्द्र पाँचखाल तथा कृषि ज्ञान केन्द्र रामेछापले सहयोग गरेका थिए । पीबीएस इन–भिट्रो प्लान्टस सहितको प्राविधिक सहयोग भने आलु बाली विकास केन्द्र निगाले सिन्धुपाल्चोकले गरेको थियो ।