२०८१ बैशाख १२ , बुधवार

लाैराे म बाँडू भनी

✍️प्रकाश आचार्य भावुक प्रभा

काँडा दिन्दिन काँधमा घँगरुका थाक्दैन बोके पनि
बढ्दो वृद्ध उमेर लाग्छ जसको साठी र पाँचै अनि ।
खोक्दैनन् अझ कर्म धर्म छ सदा झन् मै हुँ दानी भनी
भारी बोक्दछ जो र खोप्दछ कला लौरो म बाँडूँ भनी ।।१।।

 

वृद्धा वृद्ध जहाँ जहाँ नजर छन् लौरो लिई पुग्दछ
माया देख्नु र टेक्नु साथ मनको भन्दै उहीँ ढोग्दछ ।
मेला पर्व पुराण जो तरहका भेला जुटेता पनि
भारी बोक्दछ जो र खोप्दछ कला लौरो म बाँडूँ भनी ।।२।।

Open photo

कोहीमा न विभेद गर्छ सब हुन् आमा र बाबा भनी
हाँस्छन् वृद्ध त मिल्छ जो मधुरता आयौ सहारा बनी ।
आशीर्वाद दिँदै छुने सुजनले धर्मै कमायौ भनी
भारी बोक्दछ जो र खोप्दछ कला लौरो म बाँडूँ भनी ।।३।।

 

पायौ दिव्य कला र शील्प श्रमले राख्यौ अनौठो धर
लौरामै छ गुराँस सूर्य र शशी डाँफे अटेको शर ।
सिङ्गै देश छ टेक्छ वृद्ध जनले नेपाल पायौँ भनी
भारी बोक्दछ जो र खोप्दछ कला लौरो म बाँडूँ भनी ।।४।।

No description available.

हो दिक्तेल धरा सुधा सरसको बस्छन् बसैखा ठुले
आऊ वृद्ध भए कतै त घरमा देऊ लगी पौत्रले ।
लौरो मिल्छ अशुल्क पुन्य कृति यो सेवा सुनौलो अनि
भारी बोक्दछ जो र खोप्दछ कला लौरो म बाँडूँ भनी ।।५।।

Open photo

लेखक

✍️प्रकाश आचार्य भावुक प्रभा
दिक्तेल रु.म.१, खोटाङ
आचार्यनगरी
रमाइलो फूलवारी टोल
माझाघर ।

कविता
छन्दस् शार्दूलविक्रीडित