२०८० चैत्र १६ , शुक्रवार

युएईले लागू गर्‍यो नयाँ भिसा नीति

सुनाखरी न्युज/ काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो भिसा नीति परिवर्तन गरेको छ। नयाँ अध्यागमन प्रणालीअन्तर्गत गत महिना संशोधन गरिएको भिसा नीति सोमबारबाट लागू भएको हो।

 

नयाँ भिसा नीतिअनुसार युएई घुम्न जाने पर्यटकलाई लामो समयको भिसा दिनुका साथै विभिन्न पेसाकर्मीलाई लामो अवधि बस्ने सुविधा दिइएको बिबिसीले लेखेको छ। त्यस्तै उद्यमी, लगानीकर्ता र पेसाकर्मीहरूका लागि १० वर्षको ‘गोल्डन भिसा’ कार्यक्रम लागू गरिएको छ। यसलाई युएईको नीतिमा आएको पछिल्लो समयको सबभन्दा ठूलो परिवर्तनका रूपमा लिइएको छ। युएईको वैदेशिक मामिला विभागका महानिर्देशक मेजर जनरल सुल्तान युसेफ अल नुआमीले भ्रमण, रोजगार र व्यवसाय निम्ति युएईलाई एक आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न नयाँ भिसा नीति लागू गरिएको बताएका छन्। युएईले लागू गरेको नयाँ भिसा नीतिले पर्यटक वा त्यहाँ रोजगार र बसोबास निम्ति जान चाहने व्यक्तिहरूलाई के असर पार्छ त?

 

सबभन्दा पहिला कुरा गरौं, ग्रिन भिसाको। ग्रिन भिसा भनेको नवीकरण गर्न सकिने आवासीय भिसा हो। यो भिसा लिएर आप्रवासीहरू युएईमा पाँच वर्षसम्म बस्न सक्ने छन्। अवधि सकिएपछि भिसा नवीकरण गर्न सकिनेछ। ग्रिन भिसाको मुख्य विशेषता भनेको यो ‘सेल्फ स्पोन्सर्ड’ भिसा हो। यो भिसा नवीकरण गराउन आप्रवासीहरूलाई युएईका नागरिक वा रोजगारदाताको स्पोन्सरसिप आवश्यक पर्ने छैन। स्वतन्त्र पेसाकर्मी, दक्ष कामदार तथा लगानीकर्ता वा व्यावसायिक साझेदारहरू यो भिसाका हकदार हुनेछन्। ग्रिन भिसा लिने आप्रवासीलाई युएई सरकारले थप सहुलियतको व्यवस्था पनि गरेको छ। उनीहरूले आफ्ना श्रीमान वा श्रीमती, सन्तान र नजिकका नातेदारलाई युएईमा आफूसँगै राख्न सक्नेछन्।

 

ग्रिन भिसा लिएका आमाबाबुले २५ वर्षभन्दा कम उमेरका आफ्ना छोराहरूलाई त्यहाँ राख्न सक्नेछन्। पहिले यो उमेर सीमा १८ वर्ष थियो। अविवाहित छोरी र शारीरिक अपांगता भएका सन्तानका लागि उमेरको हद तोकिएको छैन। ग्रिन भिसा लिएका आप्रवासीलाई भिसा अवधि सकिएको छ महिनासम्म युएईमा बस्ने सुविधा पनि दिइएको छ।