२०८० चैत्र १६ , शुक्रवार

कांग्रेस बैठक : स्थानीय तहका उम्मेदवारलाई टिकट नदिने निर्णय

सुनाखरी न्युज/ काठमाडौं । कांग्रेसले स्थानीय तहका उम्मेदवारलाई आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा टिकट नदिने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फका उम्मेदवारको चयनका लागि मापदण्ड तय गरेको छ ।

 

‘उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिश, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, सामाजिक भुमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाइनेछ,’ बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, ‘ हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको उम्मेदवार नबनाउने ।’

 

असोज ३ मा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीमा आइतबार केही नाम हेरफेरपछि प्रत्यक्षतर्फका उम्मेदवार चयनको तयारीका लागि बैठक बसेको हो । बैठकले स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लंघन गरेका र कारवाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवस निष्क्रिय बसेका पार्टीका सदस्यलाई मंसीर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत सकृय भएर पार्टीको विजय अभियानमा सहभागी हुन अपील गरेको छ । आगामी निर्वाचनमा पार्टीका एवं गठबन्धनका उम्मेदवारलाई विजय गराउन ब्यक्तिले निभाउने भूमिकाको आधारमा त्यस्ता सदस्यहरु उपरको कारवाहीको प्रकृयालाई टुंगो गर्ने कांग्रेसले निर्णय गरेको छ ।