२०८० चैत्र १६ , शुक्रवार

‘जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरण आवश्यकता छ’

सुनाखरी न्युज / काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व रहेको बताउनुभएको छ । अमेरिकामा जारी ‘ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरम’ २०२२ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले जलवायु परिवर्तनका कारण विभिन्न खालका घटना बढ्दै गइरहेकामा चिन्ता व्यक्त गर्नुभयो ।

 

उहाँले भन्नुभयो, “जलवायु परिर्वतनले विभिन्न समस्या उत्पन्न गराइरहेको छ, जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको आवश्यकता छ ।” मन्त्री यादले कार्यक्रममा सहभागी हुन पाउनु नेपालका लागि सम्मानको विषय भएको जानकारी गराउनुभयो । उहाँले नेपालले जलवायु परिवर्तन नीति २०१९ लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जलवायु परिवर्तन एजेन्डाको लागि नेपालको प्राथमिक मार्गदर्शक दस्तावेजको रुपमा कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो । उहाँले सन् २०२१ मा नेपालले नेट शून्य उत्सर्जनका लागि दीर्घकालीन रणनीति विकास गरेको हुँदा यसको माध्यमबाट २०३० सम्ममा अत्यन्त न्यून उत्सर्जन र २०४५ सम्ममा पूर्ण शून्य उत्सर्जन हासिल गर्ने प्रयास गरेको जानकारी गराउनुभयो ।

 

मन्त्री यादवले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र पहिले नै तापमान र वर्षामा विश्वव्यापी औसत भन्दा धेरै छिटो दरमा परिवर्तन अनुभव गरिसकेकाले भौगोलिक रुपमा नेपालका हिमालमा द्रुत हिउँ र बरफ पग्लने र मनसुनको समयमा पहाडी क्षेत्रमा मुसलधारे वर्षाका कारण उत्पन्न हुने जलवायु जोखिमको दायरामा परेको बताउनुभयो । सन् २०२० मा नेपालले पेरिस जलवायु सम्झौतालाई अनुमोदन गर्नुका साथै र उत्सर्जन घटाउने देशको प्रतिबद्धतालाई सुदृढ पार्ने उद्देश्यले दोस्रो एनडिसी पेस गरेको जानकारी गराउनुभयो ।

 

यसैगरी उहाँले नेपालले वित्तीय स्रोत, उन्नत प्रविधि र उच्च दक्षजनशक्तिको माग गर्दै आएको र नेपालका साझेदारहरुलगायत अन्तर्राष्ट्रिय समुदायको सहयोगबिना नेपालले मात्रै निर्धारित लक्ष्य हासिल गर्न नसक्ने समेत स्पष्ट पार्नुभयो । नेपालको दीर्घकालीन रणनीतिले कार्बन तटस्थ, समावेशी र जलवायु अनुकूल भविष्यतर्फ साहसी नीति निर्माण, सामाजिक रुपान्तरण र प्राविधिक विकासको परिकल्पना गरेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जलवायु परिवर्तन नीति र ‘एजेन्डा’मा काम गर्न आवश्यक संस्थागत क्षमता तयार गरिरहेको उहाँले जिकिर गर्नुभयो । नेपालको जलवायु परिवर्तन परिषद् अन्तर्राष्ट्रिय जलवायु परिवर्तन एजेन्डा समन्वय गर्ने संस्थागत निकाय भएको र नेपाल सरकारले जलवायु परिवर्तनसम्बन्धी आवश्यक नीति र सङ्गठनात्मक क्षमता राखेको भए पनि स्रोत र प्रविधिको सीमितताका कारण कार्यान्वयनमा चुनौती हुँदै आएको छ भन्नुभयो । नेपाल साझा तर फरक जिम्मेवारी र क्षमताको सिद्धान्तमा जलवायु कार्यलाई तीव्रता दिन प्रतिबद्ध रहेको मन्त्री यादवले उक्त कार्यक्रममा जानकारी गराउनुभयो ।

 

नेपालले पनि स्वच्छ ऊर्जा व्यापारमार्फत आफ्नो सिमाना बाहिर न्यूनीकरण योगदानको लागि मान्यता खोज्दै आएको र जलवायु र स्वच्छ वायु गठबन्धनमा नेपालको सदस्यताले राष्ट्रिय रणनीति र अन्तर्राष्ट्रिय प्रतिबद्धता हासिल गर्न मद्दत गर्ने उहाँले जानकारी दिनुभयो । नेपालजस्ता विकासोन्मुख देशका लागि अनुकूलन बढी महत्व पूर्ण भएको र जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व रहेको उहाँले चर्चा गर्नुभयो । नेपालले जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पु¥याउने परियोजनाको ‘पाइलटिङ’ गरिरहेको जानकारी गराउनुहुँदै मन्त्री यादवले नेपालले नेपालमा बढ्दो समस्यालाई सम्बोधन गर्न मानिस, जनावर र वातावरणका लागि स्वास्थ्य नीति ल्याउन लागेको जानकारी दिनुभयो ।

 

नेपालमा अल्पकालीन जलवायु प्रदूषण र अन्य प्रयास तथा प्रतिबद्धता कम गर्न सिसिएसीसँग निरन्तर समन्वयको अपेक्षा गर्दै आएको मन्त्री यादवले सो कार्यक्रममा जानकारी गराउनुभयो ।