२०८० चैत्र १६ , शुक्रवार

पेट्रोलियम पदार्थमा कर घटाइँदै

सुनाखरी न्युज/ काठमाडौं ।सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने गृहकार्य गरेको छ । मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिएपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी गरेको हो ।

 

मन्त्रिपरिषदको बैठकमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर घटाइने सैद्धान्तिक सहमति भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार पूर्वाधारवापत ५ रुपैयाँ र भन्सार शुल्क ५ रुपैयाँ गरी १० रुपैयाँ घटाइनेछ । बजेटमार्फत पनि यसलाई सम्बोधनको तयारी गरिएको छ । खाना पकाउने ग्यासमा भने कुनै शुल्क नघटाइने भएको छ । यसघि नेपाल आयल निगमले सरकारसँग लिटरमै १५ रुपैयाँ कर घटाउन प्रस्ताव गरेको थियो ।

 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको १६३ रुपैयाँ पुर्‍याइएको छ । केही दिनअघि भारत सरकारले पनि कर कटाैती गरी इन्धनमा राहत प्रदान गरेको थियो । अत्याधिक करका कारण इन्धनको मूल्य अचाक्ली भएको भन्दै चर्काे आलोचना भएपछि सरकारले केही कर घटाउन लागेको हो । हाल आईओसीबाट प्रतिलिटर १ सय १७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ २३ पैसा, १ सय ३४ रुपैयाँ ५४ पैसामा किनिएको डिजेलमा ४५ रुपैयाँ ९१ पैसा कर/शुल्क लाग्ने गरेको छ।