२०८१ बैशाख ७ , शुक्रवार

स्वर्णद्वार तथा भक्तपुर तलेजु सर्वसाधारणका लागि खुला

सुनाखरी न्युज/ भक्तपुर  –

बन्द भएको ३० महिनापछि भक्तपुरको प्रसिद्ध स्वर्णद्वार र तलेजु सर्वसाधारणका लागि खुला गरिएको छ ।

 

कोभिड–१९ को महामारीका कारण २०७६ चैतदेखि सर्वसाधारणका लागि बन्द भएको भक्तपुरको दरबार स्क्वायरस्थित स्वर्णद्वार र त्यसभित्रको भक्तपुर तलेजु आजदेखि सर्वसाधारणका लागि खुला गरिएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । उनले भने, “कोरोना भाइरस सङ्क्रमण सुरु भएपछि भाइरसको जोखिमलाई मध्यनजर गर्दै बन्द गरिएको थियो ।

 

अब कोरोना महामारी कम भएको छ, त्यसैले भक्तपुर तलेजु साढे दुई वर्षपछि आजदेखि सर्वसाधारण तथा दर्शनार्थीका लागि खुला गरेका छौँ ।” यहाँको स्वर्णद्वारबाट प्रवेश गरेर भक्तपुर तलेजु, सुनधारालगायतका ऐतिहासिक एवं पुरातात्विक संरचना हेर्न भक्तपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकले समेत आजदेखि प्रवेश पाएको उनले बताए ।  पुरातत्व विभाग अन्तर्गत स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले तलेजु खोल्न सम्बन्धित निकायलाई आफूले पनि पहल गरेको बताउँदै अब खुला भएपछि सबैलाई सहज भएको बताए ।

 

उनले तलेजुभित्र केही मर्मतसम्भार तथा जीर्णोद्धारको कार्य भइरहेकाले खोल्न केही विलम्ब भएपछि अब सर्वसाधारणदेखि विदेशी नागरिकले समेत प्रवेश पाउने गरी खुला भएको बताए । कोरोना महामारीका कारण तलेजुमा विगत दुई वर्ष दशैँलगायतका महत्वपूर्ण चाडपर्वमा हुने बलि पूजासमेत बन्द गरेर औपचारिक पूजा मात्रै गरिएको थियो । रासस