२०७९ मंसिर १४ , बुधवार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ११ वर्षपछि नेपालको जित

सुनाखरी न्युज/ काठमाडौं – नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ११ वर्षपछि जित निकालेको छ। शनिबार दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गर्दै नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितको खडेरी तोडेको हो।

 

सन् २०११ मा भुटानलाई पराजित गरेपछि नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितविहीन थियो। नेपालले जितको खडेरी तोड्ने क्रममा मरिससलाई १-० गोलले पराजित गर्‍यो। नेपालको जितमा विमल घर्तीमगरको गोल निर्णायक बन्यो। सुमन लामाले दिएको पासमा विमलले ५५ मिनेटमा गोल गरेका हुन्। मरिससका गोलकिपर अगाडि बढेको फाइदा उठाउँदै विमलले उत्कृष्ट फिनिसिङ गरेका थिए। सन् २०१८ मा बंगलादेशविरूद्ध गोल गरेपछि विमलले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। ४० महिनापछि गोल गरेका विमलको यो नवौं अन्तर्राष्ट्रिय गोल हो।

 

विमलले गोल गरेपछि नेपालले अग्रता दोब्बर बनाउन गरेको प्रयासमा कहिले क्रसबार त कहिले पोल बाधक बन्यो। अन्जन विष्टले डिबक्सबाट उत्कृष्ट प्रहार गर्दा पोलमा लागेको थियो। लगत्तै सुमन लामाको प्रहार बारमा लागेर फर्किएको थियो। रिबाउन्डमा जगजित श्रेष्ठको प्रहारलाई मरिसका गोलकिपरले विफल पारे। हाल फिफा वरीयताको १६९औं स्थानमा रहेको नेपालले मरिसससँग पहिलो पटक खेलेको हो। फिफा वरीयताको १७२औं स्थानमा रहेकाले मरिससविरूद्ध नेपालले मंगलबार दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ।