२०७९ मंसिर २२ , बिहिवार

बैंकले फेरि बढाए ब्याजदर, कहाँ कहाँ पर्छ अशर ?

सुनाखरी न्युज/ काठमाडौँ  ।
बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर फेरि बढाएका छन् । बैंक तथा वित्तीय संस्थाले  दोस्रो त्रैमासमा आधार दर (बेस रेट) मा आएको वृद्धि अनुपातमा कर्जाको ब्याजदर वृद्धि गरेका हुन् । बैंकहरूले गत पुस र माघमा निक्षेपको ब्याजदर स्थिर राखे पनि कात्तिक र मंसिरमा बढाएका थिए । त्यति बेला निक्षेपको ब्याजदर वृद्धि गर्दा बैंकको थपिएको लागत (खर्च) अहिले आधार दरमा समायोजन गरिएको हो ।

गत असोजको तुलनामा पुसमा वाणिज्य बैंकहरूको आधार दर औसतमा करिब १ प्रतिशत बिन्दुले बढेको छ । यही अनुपातमा वाणिज्य बैंकहरूको कर्जाको (नयाँ–पुराना दुवै) ब्याजदर बढेको बैंकहरूले बताएका छन् । सबै बैंकले समान अनुपातले ब्याजदर भने बढाएका छैनन् । बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले केही बैंकले यही माघदेखि नै लागू हुने गरी ब्याजदर बढाएको र केहीले आउँदो फागुनदेखि बढाउने बताए ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक त्रैमासमा आधार दर गणना गर्नुपर्छ । यसरी गणना गर्दा आधार दरमा आएको परिवर्तनअनुसार ऋणको ब्याजदर पनि घटबढ गर्नुपर्छ । गत पुस मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.४० प्रतिशत छ । गत असोजमा यस्तो दर ७.५३ प्रतिशत थियो । गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा यस्तो दर १.२० प्रतिशत बिन्दुले बढेको देखिन्छ ।

गत कात्तिक र मंसिरमा ब्याजदर नबढाएका वा कम बढाएका बैंकहरूको आधार दर बढेको छैन । बैंकहरूले प्रकाशन गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार गत असोजको तुलनामा मेगा र बैंक अफ काठमान्डुबाहेक सबै बैंकको आधार दर बढेको छ । बैंकको ब्याजदर वृद्धि हुँदा यसको चौतर्फि अशर पर्ने गर्दछ ।