२०७९ मंसिर २२ , बिहिवार

मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न शान्ति समाजको माग

सुनाखरी न्युज/ काठमाडौं – मानव अधिकार तथा शान्ति समाजले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ ।

 

समाजका अध्यक्ष गोविन्द खनालले आइतबार विज्ञप्ति जारी गरी ज्यान मार्ने धम्की दिने मन्त्री यादवलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका हुन् । ‘आपराधिक मार्गलाई बढावा दिने गरी अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

 

शान्ति समाजले मन्त्री यादवले ५ माघ मा रौतहटको गौरमा दिएको आपत्तिजनक अभिव्यक्ति मन्त्री पदको गरिमा विपरीत हुनुका साथै लोकतान्त्रिक मर्यादाको खिलाफमा रहेको बताएको छ । गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् । समाजले राउत नेतृत्वको जनमत पार्टीले गरिरहेका कतिपय अराजक, उच्छृंखल र अशोभनीय गतिविधिको पनि निन्दा गरेको छ ।