२०७९ जेठ १३ , शुक्रवार

फेरि लकडाउन भए अर्थतन्त्र धरासायी: ब्यवसायी

33. Sunakhari Banner Glove

सुनाखरी न्युज/ काठमाडौं – कोरोनाको तेश्रो लहरे अर्थतन्त्र पुनः धरासायी हुनेमा निजी क्षेत्र चिन्तित बनेको छ । पहिलेको महाहारीले थला परेका व्यवसायी तंग्रि नसकेको अवस्थामा फेरि लकडाउन भएमा अर्थतन्त्र धरासायी हुने चिन्ता ब्यवसायीहरुले व्यक्त गरेका हुन ।

 

सरकारले यसअघि महामारी पीडितलाई दिने भनेको आर्थिक सहायता, व्यवसाय उत्थानका प्याकेज र अर्थतन्त्र पुनरुत्थानका लागि गर्नुपर्ने सबै काम प्रभावकारी रूपमा गर्न नसक्दा अर्थतन्त्र ऋणात्मक हुन पुगेको थियो । अर्थतन्त्र सुधार गर्दै जाने र कोभिडसँग जुध्दै अर्थतन्त्रलाई चलायमान गरिरहनुपर्ने चुनौती फेरि थपिएको छ । निजी क्षेत्रले लकडाउन गर्ने अवस्थासम्म सरकार पुग्न नहुने सुझाव समेत दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छा भने बिज्ञको राय र सुझावलाई नै सरकारले मान्ने हो भने अहिलेको महामारी नियन्त्रणमा लिन सकिने बताउँछन ।

 

सरकारले खोपको मात्रा बढाउने बाहेकको विकल्प अहिले देखिँदैन । लकडाउन गरेर हुँदैन भन्ने उदाहरण अस्ट्रेलिया हो भनेर हेर्नुपर्ने निजी क्षेत्रको भनाई छ । अहिले तरलता अभाव खेपिरहेको अर्थतन्त्रले पुनः बन्द थेग्न सक्ने अवस्था नभएको भनाई निजी क्षेत्रको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले कोरोना बढे पनि अहिलेको ओमिक्रोन पहिलेको डेल्टा भेरियन्टजस्तो बढी प्रभाव पार्ने खालको नदेखिएको भन्दै सरकारले खोपको मात्रा बढाउने, बुस्टर डोज दिने र विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षा मापदण्ड अगाडि बढाएर भने जानुपर्नेमा जोड दिन्छन ।

 

 

त्यसो त नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सीसीएमसीमार्फत सरकारलाई अर्थतन्त्र ठप्प हैन चलायमान राखिरहन हरेक व्यावसायिक संस्थाले छुट्टाछुट्टै र सामूहिक सुझाव दिएको बताएका छन । महामारीको पहिलो लहरबाटै प्रभावित पर्यटन सहितका उद्योग अझै पुनःस्थापना भइनसकेको अवस्थामा थप अप्रिय अवस्था आउन दिन नहुने उनको भनाई छ । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले पहिलो मात्रादेखि बुस्टरसम्मको खोप अभियान युद्धस्तरमा अगाडि बढाउनुपर्ने र अर्थतन्त्रलाई अनुशासित रूपले चल्न दिनुपर्ने सुझाव अन्य व्यवसायीको छ ।