२०७८ माघ ७ , शुक्रवार

सेन्ट लरेन्स कलेजको रजत जयन्ती सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं – गुणस्तरीय शिक्षाका लागि ख्याति प्राप्त राजधानीको चावहिलस्थित सेन्ट लरेन्स कलेजले स्थापनाको २५ औं वसन्त पार गरी रजत जयन्ती सम्पन्न गएको छ ।

 

राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सो समारोहमा कलेजमा प्रवेश गरेका नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २५ वर्षको अवधिमा प्राप्त सफलता, असफलता तथा चुनौतिको समीक्षा गर्दै अघि बढ्न कलेज परिवारलाई सल्लाह दिनुभयो । कलेजका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदीले आगामी दिनमा अझ स्तरीय कार्यक्रम सहित कलेजले आफे गुणस्तरमा थप ध्यान दिने बताउनुभयो । कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले राम्रो टिम वर्कका कारण नै कलजेले महत्वपूर्ण सफलता हासिल गरिरहेको जानकारी दिनुभयो ।

 

कलेजका अध्यक्ष केशवप्रसाद दंगालले विद्यार्थी, अभिभावक सहित समस्त शिक्षाप्रेमीहरूको सहयोगले नै कलेजलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाएको धारणा राख्नुभएको थियो । कार्यक्रममा अन्य वक्ताहरूले कलेजको प्रगतिको कामना गरेका थिए भने विद्यार्थीहरूले आ–आफ्नै अनुभव सुनाएका थिए । कार्यक्रममा विभिन्न संकायका उत्कृष्ट विद्यार्थी तथा शिक्षक शिक्षिकाहरू सहित प्रतिभाशाली पूर्व विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो । सेन्ट लरेन्स कलेजले प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन गरी चारै संकाय संचालन गरिरहेको छ ।

 

यी चार संकायमा मात्रै १५ सय ५० विद्यार्थी अध्ययनरत छन्। स्नातक तर्फ त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बीबीएस, बीएसडब्लु, बीएसस्सी. एसआइटी र बीसीएका कक्षाहरू संचालित छन्भने त्रिभुवन विश्वविद्यालयकै सम्बन्धनमा एमबीएसको कक्षा पनि संचालन भइरहेको छ । प्लस टु सहित स्नातक र स्नातकोत्तर तहमा गरी २ हजार भन्दा बढी विद्यार्थीले यस कलेजबाट गुणस्तरीय शिक्षा हासिल गरिरहेका छन् । सैद्धान्तिक सहित जीवनोपयोगी व्यवहारिक शिक्षालाई पनि उच्च प्राथमिकता दिँदै आएको कलेजले प्लस टु तथा स्नातक तहमा लगातार उत्कृष्ट नतिजा हसिल गर्दै आएको छ । अतिरिक्त क्रियाकलाप संचालनमा पनि यस कलेज अग्रणी स्थानमा रहेको पाइन्छ ।