२०७८ माघ ७ , शुक्रवार

टोयोटा बन्यो सबैभन्दा बढी गुगल सर्च गरिएको ब्रान्ड

सुनाखरी न्युज/ काठमाडौं – सन् २०२१ मा विश्वभरका विभिन्न गाडी निर्माता कम्पनीमध्ये टोयोटा सबैभन्दा धेरै गुगल सर्च गरिएको छ।

 

अस्ट्रेलियाको ‘कम्प्यर द मार्केट’ले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार कुल १५४ देशमध्ये ४७ देशमा टोयोटा सबैभन्दा धेरै गुगलमा खोजिने ब्रान्ड बनेको हो। टोयोटापछि गुगलमा बिएमडब्लु ब्रान्डबारे सबैभन्दा बढी खोजिने गरिएको अटो हिन्दुस्तानले जनाएको छ। बिएमडबल्यु २९ देशमा सबैभन्दा बढी खोजिने कम्पनी बनेको हो। यसपछि भने तेस्रो स्थानमा मर्सिडिज-बेन्ज परेको छ जुन २३ राष्ट्रमा सबैभन्दा धेरै गुगल सर्च गरिएको ब्रान्ड बनेको छ। विगत चार वर्षदेखि टोयोटा, बिएमडब्लु र मर्सिडिज-बेन्जबीच कुन कार/ब्रान्ड सबैभन्दा धेरै गुगल सर्च गरिन्छ भन्ने सन्दर्भमा प्रतिस्पर्धा चलिरहेको छ।

 

सन् २०१९ मा बिएमडब्लु सबैभन्दा बढी गुगल सर्च गरिएको गाडी निर्माता कम्पनी थियो। त्यसबेला बिएमडब्लु ११८ देशमा सबैभन्दा धेरै गुगल सर्च थियो। यी कम्पनीबाहेक टेस्ला पनि सन् २०२१देखि प्रतिस्पर्धामा आएको छ। अमेरिकी विद्युतीय गाडी निर्माता कम्पनी टेस्ला हङकङ, इजरायल, मकाउ, सिंगापुर र चीनमा सबैभन्दा बढी खोजिएको ब्रान्ड बनेको छ। तथ्यांकअनुसार टेस्ला फिनल्यान्ड, क्रोसिया, गुनियाँ, दक्षिण अफ्रिका, आइसल्यान्ड, कुवेत, माल्टा, प्यालेस्टाइन. सिरिया, अमेरिकालगायत विभिन्न देशमा पनि रुचाइएको छ किनभने टेस्ला यी कम्पनीहरूमा सार्वधिक गुगल सर्च गरिने ब्रान्डमध्ये दोस्रो वा तेस्रो स्थानमा परेको छ।

 

टेस्लाले सन् २०२१ मा मोडल एस, द साइबरट्रक, मोडल ३, रोडस्टर र सेमी ट्रक गरी विभिन्न मोडलका गाडी सार्वजनिक गरेको थियो। त्यसैले पनि सो वर्ष गुगलमा बढी खोजिएको गाडीमध्ये परेको अनुमान छ। विभिन्न गाडी निर्माता कम्पनीहरूमध्ये औडी, हुन्डाई र सुजुकी पनि सन् २०२०को तुलनमा बढी गुगलमा खोजिएको छ। सन् २०१८ देखि गुगलमा रोल्स-रोयस र माज्डा ब्रान्ड पनि निकैले खोजेको तथ्यांकमा उल्लेख छ। यता फोर्ड, भोल्भो, निशान, फक्सवागन र प्युगोट ब्रान्डहरूबारे गुगलमा कम खोजिएका ब्रान्डमा परेको अटो हिन्दुस्तानले जनाएको छ। एजेन्सी