२०७९ जेठ ३ , मंगलबार

कोरोनाको संक्रमणदर दैनिक उच्च हुन थालेपछि त्रिभुवन विमानस्थल कार्यालयले रोक्यो भिजिटर पास

सुनाखरी न्युज/ काठमाडौं – कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भाइरसको संक्रमणदर दैनिक बढेर उच्च हुनथालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ ।

 

अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको सो कार्यालयले जनाएको छ । यसगरि, विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउन समेत सर्वसाधारणमा आग्रह गरेको छ ।यसअघि पनि कार्यालयले स्वागत र बिदाइमा विमानस्थलमा नआउन आह्वान गरिरहेको छ । तर, मानिसहरुको भिडभाड नघटेपछि कार्यालयले फेरि पनि यस्तो आग्रह गरेको छ ।

 

विमानस्थल कार्यालयले हवाई यात्राका दौरान समेत आवशयक मापदण्ड पालना गर्न सम्बन्धीत वायुसेवा कम्पनी लगायत सरोकारवाला लाई आग्रह गरेको छ । नेपाल र छिमेकी मुलुकमा समेत कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण दर उच्च रुपमा फैलिएको भन्दै यसबाट बच्न कडा मापदण्ड पालना गर्न भनिएको विमानस्थल कार्यालयले जनाएको छ ।