२०७९ मंसिर १४ , बुधवार

कलङ्कीमा टिपरको ठक्करबाट युवकको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं – काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ ।

 

गएराति बा४ख ६८४३ ले नम्बरको टिपरले बा २ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार हाल ललितपुर बस्दै आएका बझाङ फलराका २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी मोटरसाइकलको पछाडि सवार रहेका थिए । ठक्करबाट सख्त घाइते उनको कलङ्कीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते मोटरसाइकल चालक ललितपुर धोबीघाट बस्ने बझाङ चैनपुरका २६ वर्षीय निखिल बमको सोही अस्पतालमा उपचार पछि थप उपचारका लागि सुन्धारास्थित भ्याली अस्पताल ल्याइएको छ ।

 

टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता ललितपुर महानगरपालिका–४ जावलाखेलस्थित सडक पेटीमा एक पुरुष आज मृत फेला परेका छन् । अन्दाजी ४०÷४५ वर्षको देखिने मृतकको पहिचान खुलेको छैन । उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   रासस