२०७९ मंसिर १४ , बुधवार

लिंकन युनिभर्सिटीद्वारा नेपालमा सञ्चालित कलेजहरूको दीक्षान्त समारोह माघ १५ मा हुँदै

सुनाखरी न्युज/ काठमाडौं – विश्वकै उत्कृष्ट विश्वविद्यालयहरूको सूचीमा रहेको लिंकन युनिभर्सिटी कलेज मलेसियाको सम्बन्धन लिएर नेपालमा संचालित विभिन्न ११ वटा शिक्षण संस्थाहरूबाट स्नातक तथा स्नातकोत्तर तह उत्तिर्ण विद्यार्थीहरूको दीक्षान्त समारोह यहीँ माघ १५ गते गोदावरी ललितपुरमा आयोजना हुने भएको छ ।

 

लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल (लुक्यान) ले शनिवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी दीक्षान्त समारोह बारे जानकारी गराएको हो ।समारोह विहान १० बजेदेखि सनराइज सम्मेलन केन्द्रमा शुरु हुने र यस पटक १५ सय बढी विद्यार्थीहरू दीक्षित हुने लुक्यानका अध्यक्ष रेश्ता झाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार समारोहमा विद्यार्थी, अभिभावक, अतिथि, शिक्षक, विश्वविद्यालय तथा विभिन्न शिक्षणसंस्थाका प्रतिनिधिहरू गरी ३ हजार भन्दा बढीको सहभागिता रहनेछ ।

 

भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनमा जोडिनु भएका लिंकन युनिभर्सिटी कलेज मलेसियाका अध्यक्ष प्राध्यापक डाक्टर अमिया भौमिकले युनिभर्सिटीको विशेषाताहरूबारे जानकारी दिनुभयो । लिंकन युनिभर्सिटी कलेजलाई विश्वकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन नेपालमा संचालित ११ वटा शिक्षण संस्थाहरूको ठूलो भूमिका रहेका उहाँले बताउनुभयो । प्राध्यापक डाक्टर भौमिका अनुसार लिंकन युनिभर्सिटी कलेज हाल गुणस्तरीय शिक्षाका लागि विश्वमै ३५ औं स्थानमा रहेको छ ।

 

हाल विश्वविद्यालयले व्यवस्थापन, होटल व्यवस्थापन र सूचना प्रविधिमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी तहका शैक्षिक पाठ्क्रमहरू संचालन गरिरहेको लुक्यानका सचिव लक्ष्मण पोख्रेलले जानकारी दिनुभयो । लुक्यानकाका कोषाध्यक्ष भेषराज आचार्यले ओम्रिकोन भाइरसको सङ्क्रमण बढेर भौतिक उपस्थितिबीच दीक्षान्त समारोह गर्न नसकिएमा भर्चुअल माध्यमबाट भएपनि गरिने जानकारी दिनुभयो ।