२०७८ माघ ७ , शुक्रवार

फ्रन्टलाइनरलाई माघ पहिलो हप्तादेखि  ‘बुस्टर डोज’ दिइने

सुनाखरी न्युज/ काठमाडौं ।
अग्रपङ्क्तिमा काम गर्ने (फ्रन्टलाइनर) र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्राको खोप लगाउने भएको जानकारी दिए ।

 

उनले सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई दृष्टिगत गर्दै कोरोना भाइरसको थप एक मात्रा (तेस्रो मात्रा) दिइने थालेको बताए । नेपालमा अहिले कूल परीक्षण गराएकामध्ये कोभिड–१९ सङ्क्रमण ८.४९ प्रतिशतमा देखिएको छ । हिजो मात्र १४ हजार ९७१ जनामा परीक्षण गर्दा ९६८ जनामा सङ्क्रमण देखिएको थियो ।

कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिइन थालेको हो । हिजो मात्र २४ जनालाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएको थियो । यसअघि गम्भीर प्रकृतिका रोग भएका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अतिरिक्त मात्रा खोप एक दिन मात्र (यही पुस २० गते) लगाएर स्थगित गरिएको थियो ।