२०७८ माघ ७ , शुक्रवार

नेपालमा पनि जोखिम बढ्यो, थप २४ जनामा ओमिक्रोन पुष्टि

सुनाखरी न्युज/ काठमाडौ ।
नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंसिर २० गते नेपालमा पहिलोपटक ओमिक्रोन पुष्टि भएको जनाएको थियो ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राका अनुसार पुस महिनाभर संकलित जम्मा ११४६ पोजिटिभ नमुनाहरुको एस-जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरु (२२%) एस-जिन नेगेटिभ पत्ता लागेको छ । एस-जिन नेगेटिभ पत्ता लागेका २४ नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा भेरिएन्ट पुष्टि भएको प्रवक्ता मिश्राले जानकारी दिएकी छिन् ।

 

मंसिर २० गते एक जना विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन पुष्टि भएको थियो । त्यसपछि पुस ७ गते एक जनामा ओमिक्रोन पुष्टि भएको थियो । योसँगै नेपालमा २७ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ ।

प्रवक्ता डा। मिश्राले ओमिक्रोन भेरिएन्टले गर्दा हुन सक्ने अत्यधिक बिरामीहरूको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन र उपचारका लागि आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामग्रीहरूको पर्याप्त जोहो गर्न र स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताएकी छिन् ।