२०७९ मंसिर १४ , बुधवार

सिरिन्ज अभावका कारण रोकिएको कोरोनाविरुद्धको फाइजर खोप आउँदो सातादेखि दिने तयारी, कुन कुन स्थानहरुबाट पाइन्छ ?

सुनाखरी न्युज/ काठमाडौं – काठमाडौंमा आउँदो सातादेखि विद्यालयबाट कोभिड–१९ विरुद्धको फाइजर खोप दिने तयारी गरिएको छ ।

 

यसअघि, खोपका लागि प्रयोग हुने सिरिन्ज अभावका कारण रोकिएको फाइजर खोप कार्यक्रम आउँदो सातादेखि सञ्चालन गर्ने तयारी गरिएको हो । काठमाडौंमा मात्रै फाइजर खोप लिने १२ देखि १७ वर्षसम्मका बालबालिकाको संख्या दुई लाख ५० हजार आकलन गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार सुरुमा विद्यालयस्तरबाट फाइजर खोप दिइनेछ ।

 

यदि, विद्यालयमा सो उमेर समूहका बालबालिका खोप लगाउन छुटेमा स्वास्थ्य संस्थाबाट पनि खोप प्रदान गरिनेछ । बालबालिकाले आफूलाई पायकपर्ने स्वास्थ्य संस्थामा गएर खोप लिन सक्नेछन् । सोहीअुनसार पालिकाहरूबाट तथ्यांक संकलनको काम भइरहेको र तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।