२०७९ मंसिर २४ , शनिवार

कोरोनाभाइरस : भारतको राजधानी दिल्ली र मुम्बईमा कर्फ्यु

सुनाखरी न्युज/ काठमाडौं – नयाँ दिल्ली कोरोनाभाइरसको संक्रमण बढेपछि भारतको राजधानी दिल्ली र अर्को ठूलो सहर मुम्बईमा कर्फ्युको घोषणा गरिएको छ ।

 

भाइरस फैलिन नदिन कर्फ्युसँगै अरु प्रतिबन्धहरू पनि लगाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोभिड–१९ संक्रमण भएको केही घण्टापछि एक साताका लागि कर्फ्यु घोषणा गरिएको हो । उनले मंगलबार आफूमा कोभिड पोजिटिभ देखिएको जानकारी दिएका थिए । भारतमा बुधबार ५८ हजार ९७ जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमितमध्ये झन्डै एकतिहाइ दिल्ली र मुम्बईमा छन् । भारतको खोपसम्बन्धी एउटा कार्यदलका प्रमुख डा. एनके अरोराले एनडीटीभीलाई देशमा तेस्रो लहर सुरु भइसकेको बताएका थिए ।

 

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्दर जैनले कोभिड पोजिटिभ भएका मध्ये ८१ प्रतिशतमा ओमिक्रोन भरियन्टको संक्रमण भएको बताए । भारतका प्रमुख अस्पतालहरूमध्ये एक अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्स (एआइआइएमएस)ले चिकित्सकहरूको हिउँदे बिदा रद्द गरेको बताइएको छ । भारतमा चुनाव प्रचारको क्रममा भइरहेका ठूला र्‍याली एवं सभाहरू कोभिड फैलनुमा जिम्मेवार रहेको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरूले ठूलाठूला चुनावी सभाहरूमा भाग लिएका छन् । उत्तराखण्ड, पन्जाब, उत्तर प्रदेश, गोवा र मनिपुरमा फेब्रुअरी र मार्चमा चुनाव हुँदै छ ।

 

कोभिडको दोस्रो लहरमा पनि राजनीतिक दलहरूले कोभिड निर्देशिकाका पालना गरेका थिएनन् । त्यति बेला वेस्ट बंगालमा चुनाव हुँदै थियो । भारतको निर्वाचन आयोगले संक्रमणमा वृद्धि भए पनि चुनावी प्रचारप्रसारलाई नरोक्ने संकेत गरेको छ । यसैबीच, मुम्बईका अधिकारीले दैनिक संक्रमण २० हजार नाघे लकडाउन गर्ने विचार गरिरहेको बताएका छन् । मुम्बईमा मंगलबार १० हजार ८६० मा संक्रमण देखिएको थियो । भारतको पर्यटकीयस्थल गोवामा पनि संक्रमणमा वृद्धि भइरहेको छ । त्यहाँ अधिकारीहरूले रात्रिकालीन कर्फ्यु लगाएका छन् ।  बीबीसीबाट