२०७९ मंसिर १५ , बिहिवार

चिसोका कारण तराईको जनजीवन कष्टकर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित

सुनाखरी न्युज/ काठमाडौं – विगत केही दिनयता बढेको अत्याधिक चिसो र शीतलहरका कारण प्रदेश नम्बर दुईका जिल्लाको जनजीवन कष्टकर बनेको छ । चिसो बढेपछि प्रदेश नम्बर दुईका विभिन्न तीन जिल्लाका विद्यालयमा बिदा दिइएको छ । चिसोका कारण दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

चिसो बढ्दै गएपछि अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायत बिरामीको चाप बढेको छ । विगत तीन दिनदेखि घाम नलाग्ने, चिसो हावा चलेका कारण सर्वसाधारणहरु आगो बालेर दिन बिताउन बाध्य भएका छन् । चिसो बढेपछि ग्रामीण तथा बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल र आवागमन पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको चाप घटेको छ । चिसो बढेसँगै विभिन्न चोकचोकमा आगो बाल्न दाउरा वितरण थालिएको छ ।

 

चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेको भन्दै सर्लाही, पर्सा र महोत्तरीका सामुदायिक विद्यालयमा एकसाताका लागि बिदा दिएको छ । विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो लुगा, स्वीटर बाँड्न थालिएको छ । चिसो बढेपछि बजारमा सर्वसाधारणको चहलपहल घटेको छ । प्रशासन कार्यालयहरुले जाडोको सुरुआत भइसकेकाले नागरिकलाई चिसोबाट जोगाउन तयारी अवस्थामा रहन निर्देशन दिएका छन ।