२०७९ मंसिर २४ , शनिवार

कविता गाउँमा विनोद गौचनको स्मरण

सुनाखरी न्युज/ पोखरा – कविता गाउँका प्रणेता विनोद गौचनको स्मृतिमा लुम्ले कविता गाउँ समितिले मङ्गलवार विविध कार्यक्रम सम्पन्न गरेको छ ।

 

समितिले उनको जन्मजयन्ती, स्मृति दिवस र लुम्ले कविता गाउँ घोषणा दिवसमा विविध कार्यक्रम गरेर गौचनको योगदानलाई स्मरण गर्दै आएको छ । २०६५ चैत्र १५ गते कास्कीको लुम्ले गाउँलाई विशेष समारोह बीच कविता गाउँ लुम्ले घोषणा गरिएपछि लुम्लेमा गौचनको स्मृतिमा यसरी वार्षिक तीन कार्यक्रम सञ्चालन गर्न थालेको हो । स्मृति सभाको उद्घाटन गर्दै गाउँपालिका सदस्य लक्ष्मी देवकोटाले गौचनको योगदानलाई जीवन्त राख्नका लागि स्थानीय सरकार निरन्तर क्रियाशील रहेको बताइन् । साथै उनले निकट भविष्यमा लुम्ले कविता गाउँमा प्रवेशद्वार र गौचनको शालिक निर्माण गरिने वचनवद्धता व्यक्त गरिन् ।

 

गौचनका दाजु विश्वमोहन गौचनले लुम्लेलाई कविता गाउँका नामले विश्वमा चिनेको देख्दा आफूलाई गर्वको अनुभूति भएको बताउँदै स्थानीय सरकारले गौचनको शालिक निर्माण अभियान थालेमा आफूले सक्दो आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने वचनवद्धता व्यक्त गरे ।
अनेसास गण्डकी समितिका अध्यक्ष दुर्गाबहादुर शाह बाबाले लुम्ले कविता गाउँ सिङ्गो लुम्लेवासीका लागि गौरव र गरिमाको विषय भएकाले त्यसलाई सोही रुपमा लिएर गतिविधि सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरे ।

 

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतम, संगम माविका प्रधानाध्यापक टेकनाथ पोखरेल, लुम्ले–पोखरा सम्पर्क समाजका अध्यक्ष मोहनमान जोशी, गुरुङ फिल्मका महानायक ताराबहादुर गुरुङ, समाजसेवी चन्द्रप्रसाद देवकोटा, कविता गाउँ समितिका संस्थापक अध्यक्ष भक्तिराम देवकोटालगायतले गौचनका विविध आयामबारे चर्चा गरेका थिए । जति माया लाए पनि, तगारोमा रुमाल राखीलगायतका चर्चित गीतका गीतकार गौचनका ढुंगेसाँघुको मेलामा र पोखरामा फूल फुल्दैन नामक दुई कवितासंग्रह प्रकाशित छन् । गौचन पोखरा प्राकृतिक हिसाबले सुन्दर भएर पनि पोखरा जस्तो सुन्दर मन भएका स्रष्टा साधक छैनन् यसैले पोखरामा फूल फुल्दैन भनेर कृतिको नामाङ्करण गर्ने कडा मिजासका स्रष्टा थिए । कवि एवं गीतकार गौचनको २०७० पुस २० गते सोमबार ५७ वर्षको अल्पायुमै निधन भएको थियो ।

स्मृति समारोहबीच गौचनको स्मृति र कविता गाउँको सम्मानमा विभिन्न विद्यालयका भाइबहिनीद्वारा खुला कवितावाचन गरिएको थियो । उक्त समारोहमा सिर्जना रसाइलीले घरको दियो बाल्ने आमा, रोशन देवकोटाले देशको माया, सागर देवकोटाले दिलमा नेपाल, प्रिती सुनारले मेरो गाउँ, रुबी सुनारले म जन्मेको गाउँ, कृष्ण विकले लुम्ले गाउँ, सदीक्षा देवकोटाले हाम्रो प्रकृति, प्रमिशा सुनार, सुदीप परियार र सविना विकले आमा शीर्षकमा कवितावाचन गरेका थिए । कवितावाचन गर्ने सम्पूर्ण भाइबहिनीका लागि गौचन परिवारबाट विशेष पुरस्कारको व्यवस्था गरिएको थियो ।

 

वाचित कवितामा जरोटुप्पो संरक्षण साहित्य समाजका महासचिव समालोचक मदन भण्डारीले टिप्पणी गरेका थिए । साथै भण्डारीले आफूलाई उत्कृष्ट लागेको प्रमिशा सुनारको मातृवन्दना विशेष आमा कविताका लागि व्यक्तिगत एक हजार थप पुरस्कार अर्पण गरेका थिए ।
समितिका अध्यक्ष चूडामणि देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खुसीमान गुरुङको स्वागत र एकदेव देवकोटाको सञ्चालन रहेको थियो ।