२०७९ मंसिर १४ , बुधवार

सुन लुकाउन सुटकेसभरि चकलेट !

सुनाखरी न्युज/ काठमाडौं । कतार एयरवेजको क्यूआर ६५० उडानबाट सिरहाका मोहम्मद इजराइल मियाँ बुधबार  साँझ ७ः३० बजे काठमाडौं उत्रिए । वैदेशिक रोजगारी सकेर नेपाल फर्किएका २१ वर्षीय मियाँले बोकेको हरियो सुटकेसलाई विमानस्थलको एक्सरे मेसिनले अवैध वस्तु बोकेको संकेत गर्‍यो ।

एक्सरे मेसिनको संकेतपछि विमानस्थल भन्सारमा खटिएका अधिकारीहरुले मियाँलाई सुटकेस खोलेर के ल्याएको देखाउन आग्रह गरे । एक्सरे मेसिनको नजिकै मियाँले सुटकेस खोले । सुटकेस चकलेटले भरिएको थियो । विमानस्थलका कर्मचारीले सोधे, चकलेट मात्रै होकी अरु पनि केही छ रु मियाँ केहीबेर बोलेनन् । तिमीले ल्याएको संकास्पद वस्तु देखाएनौं र हामीले फेला पार्‍यौं भने राम्रो हुँदैन भन्दै उनीसँग भन्सारका कर्मचारी रिसाए । त्यसपछि मियाँले सुटकेसभित्रको एउटा चकलेटको पोको फुकाए । पोकाबाट एउटा चकलेट जस्तो वस्तु निकाले र त्यसलाई फुकाउन थाले ।

 

चकलेटको पहिलो पत्र कागज निकालेर मियाँले भुँइमा फ्याँके । त्यसपछि उनले कालो टेप फुकाए । झण्डै एक मिटर लामो कालो टेप निकालेपछि सुनको सिक्री भेटियो । उनले सुनको सिक्री भन्सार अधिकारीलाई बुझाए । जानाजान भन्सार छल्न खोजेको आरोपमा मियाँ अहिले प्रहरीको हिरासतमा छन् ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईकाअनुसार अवैध तरिकाबाट सुन ल्याउन कडाइ थालेपछि फरक फरक ढंगबाट सुन भित्र्याउने कसरत भइरहेको पाइएको छ । यसअघि पनि टर्च लाइट, पास्ता मेकरभित्र अनेक उपाय लगाएर सुन लुकाएर ल्याउने काममा संलग्नहरु पक्राउ परेको भन्सार कार्यालयले जनाएको छ ।