२०७९ मंसिर २१ , बुधवार

पूर्वी इन्डोनेसियामा ७.३ म्याग्निच्युडको भूकम्प

सुनाखरी न्युज/ इन्डोनेसियाको पूर्वी भागमा रहेको बान्डा सागरमा बिहीबार ७.३ म्याग्निच्युडको भूकम्प जाँदा सामान्य क्षति भएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी निकाय (बीएमकेजी)ले जनाएको छ ।

 

बीएमकेजीले दक्षिण–पश्चिम मालुकुमा दुईवटा घर भत्किएको र केही अन्य सामान्य क्षति भएको बताइए पनि भूकम्पले सुनामी नआएको जनाइएको छ । स्थानीय समयानुसार बिहान १ बजेर २५ मिनेटमा मालुकु प्रान्तको दक्षिण–पश्चिम मालुकु जिल्लाको टियाकुर सहरबाट १३२ किलोमिटर पूर्वमा र समुद्री तलबाट १८३ किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर भूकम्प गएको बीएमकेजीको हेड फर कम्प र सुनामी केन्द्र बम्बाङ सेतियो प्रयित्नोले बिहीबार जनाएको छ ।

एजेन्सीले सबैभन्दा ठूलो ५.२ म्याग्निच्युडका तीनवटा परकम्पहरू रेकर्ड गरेको छ । एजेन्सीले मानिसलाई विश्वसनीय स्रोतहरूबाट जानकारी लिइरहन र सचेत रहन आग्रह गरेको छ । रासस/एएनआई/सिन्ह्वा