२०७९ असार १८ , शनिवार

रारा म्याराथनको सद्भावना दूतमा मिरा राई

सुनाखरी न्युज/ काठमाडौं – कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई आगामी वैशाख ११ गते आयोजना हुने रारा म्याराथनको सद्भावना दूत (गुडविल एम्बासडर) भएकी छन् ।

मुगुको प्रसिद्ध रारा तालबाट सुरु भई चुचेमारा हिमाल, डाँफे लेक हुँदै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको तयारी तीव्र गति भइरहेको आयोजकले जनाएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने म्याराथनमा पुरुष तथा महिला गरी दुई स्पर्धामा प्रतिस्पर्धा हुनेछ । उक्त म्याराथनमा मिरा सद्भावना दूतका रूपमा सहभागी हुनेछिन् ।‘‘म नयाँ खेलाडीलाई प्रोत्साहन गर्न उनीहरूसँगै दौडिने छु । तर, प्रतियोगीका रूपमा होइन,’’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा मिराले भनिन् ।

मिरा विश्व एथलेटिक्स जगतमा साहसिक नेपाली ट्रेल तथा स्काई रनरका रूपमा परिचित खेलाडी हुन् । मिराले दर्जनौँ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल भइसकेकी छन् । उनी २०१७ मा ’नेसनल जोग्राफी एडभेन्चरर अफ द एयर’ विजेता घोषित भएकी थिइन् । रारा म्याराथनका अध्यक्ष जयनारायण शाहले मिराजस्तो कीर्तिमानी धाविकालाई सद्भावना दूतको रूपमा पाउँदा म्याराथनको उचाइँ थप बढेको बताए । रारा म्याराथनका संयोजक चक्रबहादुर चन्दले म्याराथनलाई भव्य रूपमा सफल बनाउनका लागि सबै सरोकारवालासँग छलफल भइरहेको बताए ।