२०७९ जेठ ३ , मंगलबार

राप्रपा नेतृत्व सक्षम छ तर अब कस्ता हुनु पर्दछ सल्लाहकार ?

गाेपी ढकाल – राजनीति भनेकाे न त कला हाे , न त २ मा २ जाेड्दा ४ हुन्छ भन्दै गन्न सकिने गणित हाे र न त कुनै प्रयाेगशालामा सिद्ध गरेर हेर्न सकिने विज्ञान नै हाे । त्यसैले नेतृत्व गर्ने व्यक्तिले कला र गला देखाएकै भरमा कार्यकर्ता प्रति कठाेर, अगम्य र भययुक्त हाेइन जहिल्यै काेमल , सुगम र निर्भय बन्नु पर्दछ । नेतृत्व चञ्चल , अधीर र विक्षिप्त हाेइन कार्यकर्ताका नजरमा अचल , सुधिर र शान्त हुनु पर्दछ ।

 

नेतृत्व हिजाे झैं आत्मकेन्द्रित हुँदै देवत्वकरणमा मात्र रमाउने हाेइन ……. “तीन स काे फर्मुला ” अथार्थ संवाद , सहमति र सहकार्यमा अघि बढ्दै सबै राजावादी हरू र हिन्दू वादी हरूलाई भावनात्मक रूपमा जाेड्न सक्ने सम्बन्धकाे सेतु बन्नु पर्दछ । यसरी Humility , Accessibility र Approachability सहितकाे गुण भएकाे नेतृत्व जुन पार्टीले पाउछ … त्यस्ताे पार्टीले ढिलाे चांडाे गन्तव्य चुमेर नै छाेड्छ । राप्रपामा अाएकाे परिवर्तन सहितकाे पछिल्लो रूपान्तरणले चुनाैति हरू धेरै भएपनि त्यस्ताे माैका र सुविधा हामीलाई मिलेकाे छ ।
यसाे भन्दैमा चिन्तन , दर्शन र भिजनकाे कुरा परिभाषामा देखाएर मात्र पुग्दैन अत: त्याे परिणाममा पनि अाउनु पर्दछ । त्यसैले रूपान्तरण पछिकाे नेतृत्वले सबैभन्दा पहिले माथि इमान जन्माउनु पर्दछ र त्यसलाई माथि बाट तल कार्यकर्ता सम्म सार्न सक्नु पर्दछ । त्यसरी सरेकाे इमान कार्यकर्तामा भरेपछि त्याे जनतामा सर्छ । जब त्याे इमान हरेक कार्यकर्ता हुँदै बहुसंख्यक नागरिकमा पुग्छ त्यसपछि त्यही इमान ताकत बनेर परिवर्तनकारी शक्ति बनि त्याे ताकत र शक्तिले नै पार्टीलाई शक्तिशाली बनाउदै राष्ट्रकाे निर्माण गर्छ ।

नेतृत्वमा पुगेपछि विगतकै पुनराबृति गरि सानाे झुण्डकाे नेता बन्न चाहने संकुचित मानसिकता बाट माथि उठेर सबैलाई अटाउन सक्ने प्रणेता बन्नु पर्दछ । हिजाे झैं हर्ता हाेइन कर्ता र पालक बन्नु पर्दछ । संहारक हाेइन प्रदायक बन्न सक्नु पर्दछ । अाफु संग अलिकति असहमत बन्ना साथ धुलाे चटाउछु भन्ने हिजाेकाे दुर्दान्त स्वाभाव र दण्डनीय हाेइन दयालु बन्नु पर्दछ र एउटा सानाे भजनमण्डली हरूकाे पीठाधीश बन्न पाउँदा रमाउने हिजाे झैं हाेइन सबै सम्वर्द्धन वादी हरूलाई जाेड्न सक्ने देशाधीश बन्नु पर्दछ ।

अतिशय भयभीत हाेइन निर्भय बन्नु पर्दछ । कार्यकर्ताका लागि कठाेर हाेइन काेमल बन्नु पर्दछ । मत्ता हात्ती झैं उन्मत्त हाेइन उत्तम बन्नु पर्दछ र विचारकाे पथिक बारे सन्देह गर्ने कुनै ठाउँ छैन तर वाचा र भराेसामा सधैं अडिग रहन सक्नु पर्दछ । यसरी माथि उल्येखित गुण सहितकाे नेतृत्व भएन भने उद्देश्य स्वाभाविक भएर पनि त्यसकाे प्रयाेग अस्वाभाविक हुन पुग्दा त्यसले हिजाे झैं जनताकाे नजरमा पतन गराएर छाड्छ । उद्देश्य प्राकृतिक छ तर कार्यान्वयन पक्ष फितलाे भएपछि त्याे अप्राकृतिक बन्न जान्छ अनि उद्देश्य असल भएर पनि त्यसकाे प्रयाेग गलत गरेपछि त्याे उद्देश्य जाेगाउन मुस्किल पर्छ ।

 

नेतृत्वको आँखा गन्तव्य चुम्ने उद्देश्यले परकाे क्षितिज तर्फ हुन्छ तर सल्लाहकार हरूले त्याे आँखा लाई तल जमिन देखाउन सक्नु पर्दछ र त्याे जमिन भनेकाे कार्यकर्ता र अाम जनता हुन भन्ने बुझ्नु पर्दछ । नेतृत्वको टाउकाे लाई अवसरवादी , लाेभीपापी र चाकरीवाज हरूले धमिराले झैं घेर्न सक्छन अनि त्यसरी धमिराले घेरेपछि धमिरा बाहेक बाहिरकाे कुनैपनि अवस्था देख्न सकिन्न । त्यसैले त्यस्ताे धमिरावाद बाट नेतृत्व लाई जाेगाउन सल्लाहकार हरू सधैं हाेसियार रहनु पर्दछ । नेतृत्व बाट काम गर्दा वा नीतिगत निर्णय लिदा सबै काम सकारात्मक नै हुन्छ भन्ने छैन । कहिलेकाही नकारात्मक पनि हुन सक्छ तर सकारात्मक त सबल पक्ष भयाे नै किन्तु नकारात्मक पक्ष खाेतल्दै त्यसबाट जाेगिन सचेत गराउनु सल्लाहकार हरूकाे मुख्य दायित्व रहन्छ ।

 

नेतृत्वको काम लचिलाे भएर पार्टीको वृहत्तर हितका लागि नविनत्तम खाेज गर्नु हाे भने सल्लाहकार हरूले त्यसलाई दह्रोपन दिलाउनु हाे । नेतृत्व भनेकाे माछा हाे भने कार्यकर्ता हरू भनेका त्याे माछाका लागि जलासय हाे । त्यसैले नेतृत्व र कार्यकर्ता बिचकाे सम्बन्ध भनेकाे हिजाे झैं मालिक र दास जस्ताे हाेइन माछा र जलासय जस्तै अन्याेन्याश्रित सम्बन्धकाे हुनु पर्दछ । नेतृत्व गर्ने भनेकाे कुनै रहरले र कसैकाे देखासिखीले हुने हाेइन त्यसका लागि दायित्वबाेध र कर्तव्यबोध सहितकाे करिस्मा चाहिन्छ । त्यसैले नेतृत्वमा पुगेका हरू बाट कसैप्रति पूर्वाग्रह राख्नु हुदैन भने अहंकार त अझ पाल्नै हुदैन । किनकि अहंकार भनेकाे आफ्ना लागि हाेइन ……. अर्काका लागि जाेडिदिने सम्पत्ति हाे भन्दै शास्त्रमा लेखिएकाे छ ।

 

कमजाेर अार्थिक अवस्थाकाे पत्थरमा बजारिएर पनि सम्वर्द्धन वादी मान्यता स्थापित गराउन निष्ठा पूर्वक कर्मकाे तपस्यामा रहेका कार्यकर्ता हरूकाे हृदयको जिज्ञासा र तृष्णा मेटाउन नेतृत्व सधैं सक्षम हुनु पर्दछ । नेतृत्वले हरेक समयमा, हरेक क्रियामा , हरेक वस्तु , हरेक अवस्था , हरेक परिस्थिति र हरेक घटना हरू आफ्नै अाँखाले हेर्नु पर्दछ । तर अाँखाले हेर्नु पर्ने कुरा सल्लाहकार हरूकाे भरमा कानले हेर्ने विगत लाई नै पुनराबृति गरियाे अनि कानले सुन्नु पर्ने कुरालाई सदैव देवत्वकरण मात्र खाेजियाे भने फराकिलो दृष्ठिकाेण सहित सामुहिक स्वामित्व लाई संस्थागत गर्ने लक्ष्य मस्तिष्क बाट हटेर उत्पन्न हुने दृष्ठिदाेषले नेतृत्व लाई आत्मकेन्द्रित बनाउछ । त्यसपछि नेतृत्व लाई रिझाउन , चाकडी र चाप्लुसी नै याेग्यताकाे सबैभन्दा उच्च क्षमता बुझ्नु पर्ने अभ्यासले घरजम गर्न थाल्दा ” जुन जाेगी अाएपनि कानै चिरेकाे ” भन्ने उखान चरितार्थ हुँदै कार्यकर्तामा फेरि निरासाकाे कालाे बादल मडारिन थाल्छ ।

हाे – नेतृत्व बाट कहिलेकाहीँ गल्ती , त्रुटि र कमजाेरी हरू हुन्छ नै , किनकि मान्छे बाट मात्र हाेइन भगवान बाट पनि गल्ति भएकाे कुरा शास्त्र बाट पनि बुझ्न सकिन्छ । अलक्ष्य स्वरूप भगवान शिवले आफ्नै छाेरा गणेश लाई नचिनेर शिर भस्म गर्दाकाे गल्तिले पछि हात्तीको टाउकाे खाेजेर जाेड्नु पर्‍यो । भगवान विष्णु बाट गल्ती हुदा सती वृन्दाकाे श्रापले कहिले वज्रकिट ढुंगा , कहिले घाँस र कहिले झार समेत बन्नु पर्‍यो । सृष्टिकर्ता स्वयं ब्रह्माजी बाट गल्ती हुदा एउटा शिर काटिनु पर्‍यो । भगवान श्रीराम लाई सुनकाे मृग हुदैन भन्ने के ज्ञान थिएन ? तर गल्ती र कमजोरीले मृग मरिचिकाे पछि दगुर्दा त्यही माैकामा रावणले सीता हरण गरि पत्नी वियाेग सहनु पर्‍यो । त्यसैले मान्छे बाट गल्ती हुन्छन तर त्यसबाट पाठ सिक्दै अाफुलाई परिमार्जन गर्न सक्ने क्षमता राख्न सक्ने मान्छे नै महान नेता बन्छ ।

 

( लेखक – पार्टी भित्रकाे सर्वसत्तावाद बिरूद्ध रूपान्तरणका पक्षमा बिगत पाँच बर्ष देखि अनवरत कलम चलाउने राप्रपा केन्द्रीय सम्पादन समितिका निवर्तमान सदस्य हुन )