२०७९ जेठ ३ , मंगलबार

गाईले सुनको सिक्री निलेपछि !

सुनाखरी न्युज/ काठमाडौं-

हिन्दु धर्मावलम्बीले गाईको पूजा गर्छन् तर लक्ष्मीका रुपमा पुजिने गाईले पूजाकै क्रममा आफूलाई लगाइदिएको सुनको सिक्री नै निलेपछि एउटा परिवारले एक महिनाभन्दा लामो समय तनाव झेलेको छ ।

भारतको कर्नाटक राज्यको सिरसीमा श्रीकान्त हेगडेले दीपावलीमा गाईको पूजा गरेका थिए । उनको परिवारले गाई तिहारको दिन धुमधामसँग गाईलाई सिङ्गारेर पूजा गरेको थियो ।

यस क्रममा सो परिवारले गाईलाई २० ग्रामको सुनको सिक्रीसमेत लगाइदिएको थियो । तर केहीबेरमै गाईले उक्त सिक्री फुत्काएर निल्यो । गाईले सुनको सिक्री नै निलेपछि हेगडे परिवारले उक्त गाईलाई छुट्टै बाँधेर गोबरमा सिक्री आउँछ कि भनेर हेर्न थाल्यो । दैनिक रुपमा निगरानी गर्दासमेत ३५ दिनसम्म सुनको सिक्री गोबरमार्फत ननिस्किएपछि भने सो परिवारले पशु चिकित्सकसँग यसबारे परामर्श लियो ।

पशु चिकित्सकले गाईको पेटमै सिक्री रहेको किटान गर्नुका साथै उक्त सिक्री ननिकाले गाईको स्वास्थ्यमै असर गर्ने चेतावनी दिए । त्यसपछि उक्त गाईको पेटको शल्यक्रिया गरेर सिक्री निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेगडे परिवारले आफ्नो सानो गल्तीका कारण गाईले कष्ट व्यहोर्नु परेकोमा चिन्ता प्रकट गरेको बताइएको छ ।

तर, २० ग्रामको सुनको सिक्री गाईको पेटबाट निकाल्दा १८ ग्राममात्र पाइएको बताइएको छ । शल्यक्रियाका बाबजुद हाल गाईको स्वास्थ्य अवस्थामा सामान्य रहेको बताइएको छ ।
एजेन्सी