२०७९ जेठ ३ , मंगलबार

जनसंख्या ३ करोड नपुग्ने, यस्तो छ तथ्यांक विभागको प्रक्षपन

सुनाखरी न्युज/ काठमाडौं – राष्ट्रिय जनगणना २०७८ को मुल गणनाबारे जानकारी दिन शुक्रबार केन्द्रीय तथ्यांक विभागले गरेको पत्रकार सम्मेलनमा २ करोड ८० लाख देखि ३ करोडबीच जनसंख्या रहने देखिएको जनाएको हो । जनगणनाको यकिन तथ्यांक आउन भने करिब २ वर्ष लाग्ने छ ।

 

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बाल मृत्युदर घटेको र जन्मदर पनि २.१ प्रतिशत रहेकाले देशको समग्र जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडबीचमा रहने देखिएको बताए । “यो प्रारम्भिक तथ्यांक हो । यसको यकिन तथ्यांक आउन केही समय लाग्छ,”उनले भने ।

यस पटकको जनगणनामा सबै समुदाय सहभागी भएको पनि बताए । “राउटे समूदाय पनि जनगणनामा सहभागी भएको छ । १२औं संस्करणको राष्ट्रिय जनगणना सफलतापूर्वक सम्पन्न भएको छ,”उनले भने । उनले घरबारविहीन सडकमा बस्नेहरुको पनि गणना गरेको बताए ।

 

राष्ट्रिय जनगणनामा सहभागी भएका ३ जना गणकको ज्यान गएको विभागले जनाएको छ । कैलाली टिकापुरमा एक जना सुपरीवेक्षकको हृदयघाटका कारण, धादिङ र रसुवामा एक/एक जना गणकको भीरबाट लडेर मृत्यु भएको विभागले जनाएको छ । यसैगरी, चार जना गणकलाई कुकुरले टोकेको र दुई जना गणकको खुट्टा भाँचिएको र केही गणकलाई कोरोना भाइरसको संक्रमणसमेत देखिएको विभागले जनाएको छ । आत्महत्या गर्नेबाहेक अन्य तीन जनाको परिवारले बीमा बापत ५ लाख रुपैयाँ पाउने महानिर्देशक श्रेष्ठले बताए ।

 

 

विभागले राष्ट्रिय जनगणना कार्यका लागि खटिएका ४० हजार गणक र साढे ८ हजार पर्यवक्षकको जनही पाँच लाख रुपैयाँको बीमा गराएको छ ।