२०७९ जेठ ३ , मंगलबार

यसरी जुट्यो ५ महिनापछि एउटै मञ्चमा देउवा, ओली र यादवको भेट

सुनाखरी न्युज/ काठमाडौं-

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरू भएको छ । चितवनको नारायणी नदी किनारमा तयार भएको मञ्चमा एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा सँग–सँगै पुगेका हुन् ।

देउवा हेलिकप्टरबाट एमाले महाधिवेशनमा भाग लिनकै लागि चितवन पुगेका हुन् । करिब ५ महिनापछि देउवा र ओली एउटै मञ्चमा यसरी भेट भएका हुन् । उनीहरूसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि मञ्चमा पुगेका छन् । ओली र देउवा पुगेपछि लगत्तै राष्ट्रिय गान गाएर उद्घाटन सत्र अघि बढेको छ ।

 

सर्वोच्च अदालतको असार २८ गतेको आदेशपछि प्रधानमन्त्री पदबाट हटेसँगै ओली र देउवाबीच औपचारिक रूपमा भेटवार्ता भएको थिएन । प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले तत्कालीन कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत सन्देश पठाएर ओलीसँग भेटघाटको पहल गरे पनि सफल भएको थिएन।

त्यस्तै एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका ८ राजनीतिक दलका नेताहरू सहभागी हुने भएका छन् । चीनलगायत अन्य २५ देशका दलहरूले भने शुभकामना सन्देश पठाएका छन् ।