२०७९ जेठ ३ , मंगलबार

५५ वर्षपछि नेपाल विकासशील मुलुकमा स्तरोन्नति

सुनाखरी न्युज/ काठमाडौँ ।
करिब ५५ वर्षपछि नेपाल  अति कम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने भएको छ । राष्ट्रसंघको ७६ औं महासभाले अतिकम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने प्रस्ताव अनुमोदन गरेको हो । नेपाल सन् १९७१ देखि राष्ट्रसंघको अतिकम विकसित राष्ट्रको सूचीमा थियो ।

राष्ट्रसंघद्वारा जारी विज्ञप्तिअनुसार नेपाल, बंगलादेश र लाओस एकसाथ विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै छन् । योसँगै अब एसिया महादेशका अफगानिस्तानबाहेक सबै राष्ट्र विकासशीलमा स्तरोन्नति भइसक्ने छन् । नेपाल, बंगलादेश र लाओसले विकासशीलमा स्तरोन्नति हुन ५ वर्षको तयारी अवधि पाउने विज्ञप्तिमा उल्लेख छ । यस अवधिमा कोभिड–१९ महामारीपछिको आर्थिक पुनरुत्थान र दिगो विकाससमेतलाई ध्यानमा राखेर अर्थतन्त्रका विभिन्न आयाममा तोकिएका उपलब्धि हासिल गरिसक्नुपर्नेछ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले सन् २०२६ भित्रमा मुलुकको स्तरोन्नति हुने प्रस्ताव संयुक्त राष्ट्रसंघमा पठाएको थियो । संयुक्त राष्ट्रसंघको विकास नीति समिति (कमिटी फर डेभलपमेन्ट पोलिसी) ले गत फेब्रुअरीमा उक्त प्रस्ताव महासभामा पेस गरेको थियो । प्रस्तावलाई राष्ट्रसंघको जारी ७६ औं महासभाको ४० औं बैठकले अनुमोदन गरेको हो ।

राष्ट्रसंघका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोग प्रमुख अमृतकुमार राईले महासभामा नेपालले सहज रूपमा स्तरोन्नति गर्न संयुक्त राष्ट्रसंघीय प्रणालीसहित विकास साझेदारहरूको साथ महत्त्वपूर्ण हुने बताएका थिए ।