२०७९ जेठ ३ , मंगलबार

नेपाली विद्यार्थीहरू अष्ट्रेलिया र जापान जान पाउने

सुनाखरी न्युज/ काठमाडौं – विगत दुई वर्षदेखि कोरोना महामारीका कारण रोकिएका नेपाली विद्यार्थीहरूले उच्च शिक्षा हासिल गर्नका लागि विशेष रुचाइने देशहरुमा अध्ययन गर्न जान पाउने भएका छन् । नेपाल शैक्षिक परामर्श संघले अष्ट्रेलिया र जापान बोर्डर खुल्ला सम्बन्धी पत्रकार सम्मेलन गर्दै उक्त देशमा जाने तयारीमा रहेका विद्यार्थीहरू अब अष्ट्रेलिया र जापान जान पाउने भएको जानकारी दिएको हो ।

 

जापान सरकारले २०२० को अप्रिल देखि २०२१ को अप्रिल सम्मका विद्यार्थीलाई २०२१ को नोभेम्बर, डिसेम्बर र जनवरी गरी तिन महिनामा प्रवेशको अनुमति दिने निर्णय गरेको छ । साथै २०२१ को अप्रिल, जुलाई र अक्टोबरका विद्यार्थीलाई जनवरी पछि सूचना जारी गर्ने जनाएको छ ।सन् २०२० जनवरी ०१ देखि २०२० मार्च ३१ सम्म सिओई प्राप्त विद्यार्थी नोभेम्बर महिनाभित्र जापान प्रवेश गर्न पाउने छन् । २०२० जनवरी ०१ देखि २०२० सेप्टेम्बर ३९ सम्म सिओई आएका विद्यार्थीले डिसेम्बरसम्म प्रवेश पाउने छन् ।जसका लागि पूर्णरुपमा खोप लगाएका हुनुपर्नेछ ।
त्यस्तै, अष्ट्रेलियाका लागि भिसा आवेदन दिएर बसेका नेपाली विद्यार्थीहरूले पनि अब अष्ट्रेलिया जान पाउने भएका छन् । अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष, शरणार्थी, मानवीय, अस्थायी र अस्थायी पारिवारिक भिसा धारकहरू सहित यात्रा छुटको लागि आवेदन नगरी अष्ट्रेलिया जान सक्ने जनाएको हो।

 

साथै नेपालमा अवस्थित जापनिज दूतावासले भिसा आवेदन प्रत्यक्ष रूपमा नलिने नयाँ नियम लागू गरेको छ । अब जापानको लागि भिजा आवेदन नेपाल स्थित भिएफएस ग्लोबल नेपालबाट लिनुपर्नेछ । अब अष्ट्रेलीया तथा जापान जाने विद्यार्थीहरूले नियमित प्रक्रियाबाट जान सक्नेछन् । जसले गर्दा नेपाली विद्यार्थी र अभिभावक सामु देखा परेको अन्यौलताको अवस्थाको अन्त्य भएको छ ।